१ कार्तिक २०८३, आइतबार

कोभिसिल्ड खोप नेपाललाई ‘अनुकूल’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल हुने देखिएको हो ।

बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ । नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने ‘एजेडडी १२२२’ खोप भारतमा कोभिसिल्डको नामबाट विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ ।

‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र बेलायतका प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादलगायतका कूटनीतिक पहल गरेर कोभिसिल्ड किनेर वा जसरी भए पनि मुलुकमा भित्र्याउन प्रक्रिया सुरु गर्नुपर्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘गोर्खा सैनिकले गर्दा बेलायतसँग पनि हाम्रो विशेष सम्बन्ध छ । भारत त झन् सांस्कृतिक रूपले समेत अति निकट छिमेकी हो ।’

बेलायतमा पहिले ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने फाइजर–बायोएनटेकको खोपले आपत्कालीन स्वीकृति पाएको थियो । हालसम्म करिब ५ लाख जनाले उक्त खोप लगाइसकेका छन् । ‘कोभिसिल्ड’ बेलायतमा आपत्कालीन स्वीकृति पाएको दोस्रो खोप हो । अमेरिकाले पनि फाइजर र मोडर्नाको खोपलाई स्वीकृति दिइसकेको छ ।

नेपालमा शून्यभन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने खोप अहिलेकै संरचनाअनुकूल नरहेको औंल्याउँदै डा. मरासिनीले भने, ‘विश्वकै विश्वसनीय संस्थाबाट उत्पादित र मूल्य पनि अत्यन्त कम, प्रभावकारी, हालसम्म राम्रो देखिएको खोप भारतसम्म आइपुगेकाले हामीले जतिसक्दो छिटो ल्याउनुपर्छ ।’ अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।