१ कार्तिक २०८३, आइतबार

देउवा किन उभिए पुन:स्थापनाको विरोधमा ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छस्’ भनिदिएको विषय अहिले पार्टीभित्र फेरि चर्चामा छ ।

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुन:स्थापना भए पनि कांग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहुन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए । कार्कीले त्यसो भन्दा देउवा मक्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले ।

‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तै परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’

सत्ताका लागि जस्तो पनि जोखिम मोल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभहानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ तर जति नै आलोचना भए पनि उनी आफूले लिएको अडानबाट हल्लिएका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित इतरपक्षीय अधिकांश नेताले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भनेर मात्रै नहुने, पुन:स्थापनाको माग राखेर जनतामाझ जानुपर्ने अडान राखिरहेका छन् । पार्टीले पनि त्यही निर्णय लिनुपर्ने यो पक्षको अडान छ । तर देउवा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने तर पुन:स्थापनाको मुद्दा नउठाउनेमा दृढ देखिन्छन् । उनले शनिबार जारी गरेको विज्ञप्तिमा पनि प्रतिनिधिसभा पुन:स्थापनको विषय कतै उल्लेख गरेका छैनन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गर्न लागेको बताएका छन् तर असंवैधानिक कदम कुन माध्यमबाट सच्चिने हो भन्नेबारेमा उनी मौन छन् । वरिष्ठ नेता पौडेलले सभापति देउवाको विज्ञप्तिलाई काउन्टर दिँदै असंवैधानिक कदम सच्याउनकै लागि कांग्रेसले प्रदर्शन गर्न लागेको भन्दै देशभरका पार्टी पंक्ति र आमनागरिकलाई सहभागी हुन आग्रह गरेका छन् ।

नेकपामा अहिले विभाजित भएकै अंंकगणित कायम भएमा प्रतिनिधिसभा पुन:स्थापना हुँदाका बखत सरकार बनाउन कांग्रेस निर्णायक हुनेछ । ओली र पुष्पकमल दाहालको तानातानमा कांग्रेसले सरकारको नेतृत्वसमेत पाउने मौकाको संकेत गर्दै कार्कीले बैठकमा पुन:स्थापनापछि पनि कांग्रेस निर्णायक नै रहने बताएका थिए । पार्टीसम्बद्ध विश्लेषकहरूका अनुसार प्रतिनिधिसभा पुन:स्थापनाले नेकपालाई मिल्न सहयोग पुग्ने बुझाइ देउवामा छ । घरेलु तथा बाह्य शक्तिको बलमा नेकपा मिल्ने ठानेरै उनले पुन:स्थापनाको मुद्दा नउठाएका हुन् । पुन:स्थापनापछि विभाजित हुँदा पनि पार्टीको आधिकारिक मान्यता पाउने पक्षसँग सांसद संख्या बढ्न सक्ने र त्यतिबेला कांग्रेसबिनै अर्को विपक्षी जनता समाजवादीसँग मिलेर सरकार बनाउन सक्ने भय देउवामा देखिन्छ । त्यस्तो स्थिति आयो भने कांग्रेसको प्रमुख प्रतिपक्षीय हैसियत पनि गुम्ने डर देखिएकाले उनी प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दा उठाउन नहुने अडानमा रहेका हुन् ।

देउवाको हिसाबकिताबमा पुन:स्थापनाभन्दा निर्वाचन आफ्नो हितमा हुने ठानेका छन् । ‘अदालतले विघटनकै पक्षमा फैसला गरिदिएर तोकिएकै मितिमा निर्वाचन भएमा कांग्रेसले बहुमत ल्याउने, बहुमत नभए पनि ठूलो दल हुने, त्यसपछि प्रधानमन्त्री र पार्टी सभापति बन्ने सम्भावना एकैसाथ खुल्ने सभापतिजीले देखिसक्नुभएको छ,’ उनीनिकट एक केन्द्रीय सदस्यले कान्तिपुरसँग भने । वैशाखमा निर्वाचन हुने अवस्था भएमा कांग्रेसले महाधिवेशन भदौमा सार्ने निश्चितजस्तै छ । यसअघि तोकिएको फागुन ७—१० को मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ । वैशाख/जेठमा केन्द्रीय महाधिवेशनको तालिका तोक्ने तयारी भइरहेका बेला प्रतिनिधिसभा विघटन र निर्वाचनको मितिले महाधिवेशनको तिथिसमेत अन्योलमा छ । प्रतिनिधिसभा विघटनविरुद्ध जति बोले पनि हुने तर पुन:स्थापनाको पक्षमा नबोल्न देउवाले केन्द्रीय कार्यसमितिको बैठकमै निर्देशन दिन थालेका छन् । कुलचन्द्र न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।