२ कार्तिक २०८३, सोमबार

पदमार्ग मासेर हाइड्रो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ५ पुस । फक्ताङलुङ गाउँपालिका–६ सेकाथुमका ग्याबु शेर्पाले करोडभन्दा बढी लगानी गरेको होटल छाडेका छन्।

कञ्चनजंघा हिमाल जाने पदमार्गमा होटल चलाउँदै आएको घरजग्गा उनले जलविद्युत् आयोजना (हाइड्रो)लाई सुम्पिएका छन्। सेकाथुमकै पेमाडेमा शेर्पाले पनि हाइड्रोकै कारण होटल छाड्नुपर्ने भएको छ। दुवै जनालाई अब के गर्न भन्ने चिन्ता छ।

कञ्चजनंघा संरक्षण क्षेत्र (केक्याप)समेत पर्ने यो क्षेत्रमा रेमिट हाइड्रो प्रालिले घुन्सा खोला जलविद्युत् आयोजना निर्माण थालेको छ। त्यससँगै दर्जन स्थानीय घर छाड्नुपर्ने भएको हो। त्योभन्दा मुख्य कुरा त यसले विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिने भएको छ।

आयोजनाले मुआब्जा दिएर जमिन लगे पनि पर्यटक हिँड्ने बाटो मासिँदा दुःख लागेको पेमाडेमाले बताइन्। ‘हाम्रो जीविकाको आधार नै होटल हो। मुआब्जा पाएको पैसाले बाहिर केही पनि आउँदैन। भएको जमिन सकियो’, उनले भनिन्, ‘पर्यटक हिँड्ने बाटो पनि मासियो, अब के गर्ने ?’

७८.५ मेगावाटको यो आयोजनाले सेकाथुमबाट फेदीसम्म करिब १० किमि पदमार्ग मासिनेछ। सरकारले अर्को आयोजनालाई पनि लाइसेन्स दिएको छ। कञ्चनजंघा हिमालको फेदबाट सुरु हुने १ सय ५५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजना आम्जिलेसा फेदीसम्म भू–भागमा निर्माण हुनेछ। यसले पदमार्गसहित यहाँको जैविक विविधतामा असर गर्ने स्थानीयको भनाइ छ।

घुन्साभन्दा तल आम्जिलेसाभन्दा माथि अरू दुईवटा आयोजनाले पनि लाइसेन्स लिएका छन्। तर, यी आयोजनालाई केक्यापले सहमति दिइसकेको छैन। सीताराम गुरागाईंले अन्नपूर्ण पाेस्ट दैनिकमा खबर लेखेका छन् ।