३ कार्तिक २०८३, मंगलबार

निर्माण व्यवसायी महासंघद्वारा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई सम्मान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरूको सम्मानमा कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याहरूबारे जानकारी गराए । नेपाल उद्योग वाणिज्य महासंघको विगतको नेतृत्वले निर्माण व्यवसायीका समस्याहरू समाधान गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष सिंहले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास व्यक्त गरे ।

सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघ सँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने अध्यक्ष सिंहले बताए । ‘निजी क्षेत्रमाथि चारैतिरबाट औंला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरूबीच सहकार्यको विकल्प छैन’, अध्यक्ष सिंहले भने ।

सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थ अनुसार प्रयोग मात्र गर्दै आइरहेको आरोप सिंहले लगाए । कोभिड–१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक पटक पत्राचार गर्दा पनि कुनै सुनुवाई नभएको सिंहले बताए । निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्ने विश्वास उहाँले व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए । निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्विकार गरे । नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघ जस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए ।

महासंघलाई अझ सुदृढ संस्थाको रूपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको भन्दै उनले आवश्यक सरसल्लाह दिन आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए ।

विकास बजेटको सबैभन्दा बढी भार बोक्ने क्षेत्र निर्माण व्यवसाय नै रहेको जानकारी गराउँदै पाण्डेले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ८ लाख बढीलाई निर्माण व्यवसयाले नै रोजगारी दिएको बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको उहाँको तर्क थियो । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले महासंघको संक्षिप्त चिनारी प्रस्तुत गर्दै पूर्वाधार विकासको क्षेत्रमा निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ सँगको सम्बन्धलाई नेपाल निर्माण व्यवसायी महासंघले उच्च महत्व दिएको बताउँदै उनले आपसी सहकार्यबाट मात्र निजी क्षेत्रको समस्या समाधान गर्न सकिने बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सल्लाहकारहरू रमेश शर्मा, विरेन्द्रराज पाण्डे, ग्याल्जे शेर्पा लगायतले उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा एवं निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका सल्लाहकार सुकुन्तलाल हिराचन उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा एवं निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित भएका छन् ।