१० कार्तिक २०८३, मंगलबार

अनुमति बिना औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, १ पुस । चितवनमा अनुमति बिना औषधि ओसारपोसारमा संलग्न भएको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माडी नगरपालिका ९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कालिका नगरपालिका ४ बस्ने २८ वर्षीय राज कुमार महत्तो, माडी नगरपालिका ३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका ३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका ८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका ३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका २३ बस्ने २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

ठोरीबाट माडीतर्फ आउँदै गरेको ना.४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमार महत्तोले बसको डिकीमा बोरामा राखी ल्याएको विभिन्न किसिमको औषधि फेला पारेको थियो ।

थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट लुकाई राखेको विभिन्न किसिमका औषधि फेला पारी औषधि ओसारपसारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै माडी नगरपालिका ९ बगही खोलाको किनारको झाडीमा वेवारीसे अवस्थामा रहेका करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिहरू समेत ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले बुधबार बिहान फेला पारी बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई बरामद औषधि सहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।