
कपिलवस्तु, २८ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक महिलाको हत्या भएको छ ।
चन्द्रौटाको पुरानो बजारस्थित मकबुल मियाको घरमा डेरा गरी बस्ने ५९ वर्षीय सुशिला खड्काको रहस्यमय हत्या भएको हो ।
मंसिर २७ गते बेलुकी अन्दाजी ९ बजेको समयमा घरको पछाडि आँगनमा रगताम्मे रहस्यमय मृत शव फेला परेको वडाप्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
लाशको प्रकृति हेर्दा घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मी र वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलसहितको अनुसन्धान टोली अनुसन्धानमा खटिएको बताइएको छ । अनुसन्धानका क्रममा एउटै डेरामा बस्दै आएका आफ्नै भदा २३ वर्षीय तोरण बहादुर खडकाले हत्या गरेको रहस्य खुलेको हो ।
घटनालाई थप प्रभावकारी रुपले अनुसन्धान गर्न घटनालाई सुरक्षित राखी तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय केनाईन शाखा बाँकेबाट अपराध अनुसन्धान (ट्रयाकर) तालिम प्राप्त कुकुर झिकाइएको थियो ।
मंसिर २८ गते आइतबार बिहान ६ बजे घटनास्थलमा डग स्नाइफिङ गराउँदा कुकुरले मृतकसँगै बस्ने मृतककै भदा पर्ने तोरण बहादुर खडकालाई पहिचान गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सोधपुछ गर्दा आफुले मासुको झोल लिई आएकोले रक्सी ल्याउन भनी फुपुसँग ५० रुपैयाँ माग्दा नदिएपछि विवाद सृजना भएको घटना भएको स्वीकारेको बताइएको छ ।
आरोपितका अनुसार मदिरा सेवन गरेकी फुपुले अश्लिल शव्द प्रयोग गरेपछि रिसको झोंकमा धकेल्दा भुईमा लडेको बताउँछन् । “फुपुले मलाई ईंटाले हान्न लाग्दा मैले सोही ईटा खोसी निजको टाउकोमा प्रहार गरेको हुँ”–आरोपित खडकाले स्वीकारे ।
ईंटाले हिर्काउँदा फुपु घाईते भई भुईमा लडेपछि सोही स्थानमा रहेको मसला पिस्ने सिलौटो समेतले टाउकोमा हानी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
घटना घटेको ९ घण्टाभित्रै प्रभावकारी अनुसन्धान गरी निज तोरण बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक अधिकारीले जनाएका छन् ।















प्रतिक्रिया