
काठमाडौं, २८ मंसिर । धनुषा, बझाङ, गोरखा, रौतहट, सिरहा र मोरङका छुट्टाछुट्टै स्थानमा शनिबार भएका सवारी दुर्घटनामा परी ७ जनाको मत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलस्थित सडकमा ना. ५ ख ४७४९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सिरहा कर्जन्हा नगरपालिका–३ बन्दीपुर बस्ने ५५ वर्षीय नथुनी विकको शनिबार दिँउसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
यस्तै बझाङको तलकोट गाउँपालिका–३ चिरकिट्टे भन्ने स्थानमा बा. ३ क ६०० नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार कञ्चनपुर भिमदत्त नगरपालिका–१९ बस्ने २१ वर्षीय मनोज भट्ट समेत गरी २ जनाको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित नयाँ गाउँमा ना. ३ ख ८१४३ नम्बरको बसको ढोकाबाट खसेर सोही गाउँपालिका सिरिचौर बस्ने ४८ वर्षीय बुद्दिबहादुर रम्तेलको शनिबार साँझ मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
त्यस्तै रौतहटको वृन्दावान नगरपालिका–७ धमैरास्थित सडकमा बीआर ३० सी २९२८ नम्बरको मोटरसाइकल ना. ४ ख २७२५ नम्बरको ट्रकमा शनिबार राति ठोकिएदा मोटरसाइकल चालक वृन्दावान नगरपालिका–७ बस्ने २७ वर्षीय बिशाल पालको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको चपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
त्यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित भित्री सडकमा स. ५ प ८२२९ नम्बरको मोटरसाइकललाई को. २ त ३०९५ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–८ अरङ बस्ने ५५ वर्षीय देबेन्द्र ठाकुरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
र, मोरङको विराटनगर महानगरपालिका–१३ स्थित सडकमा प्र १–०२–०४२ प ९६४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१३ बस्ने सप्तरी राजबिराज घर भएकी ६१ वर्षीया शान्तीदेवी देवको शनिबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया