१ कार्तिक २०८३, आइतबार

बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित हुने भएको छ ।

आफ्नै पार्टी नेकपाभित्रको अन्तरसंघर्षले सभामुख अग्नि सापकोटा उपस्थित हुने/नहुने अन्योल भइरहेकै बेला देउवाले पार्टीको देशव्यापी विरोध प्रदर्शनलाई कारण देखाउँदै बैठकमा आउन अनुकूल नहुने जनाउ शुक्रबार दिएका थिए ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का जोकोही सदस्य अनुपस्थित भए पनि बैठक बस्न सक्दैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने विपक्षी दलको नेता अनुपस्थित हुने जानकारी साँझसम्म नआएको बताए । ‘अहिलेसम्म बैठकको तालिका कायमै छ, देउवा अनुपस्थित हुने भन्ने जानकारी आएको छैन,’ उनले भने, ‘उपस्थित हुनुभएन भने संविधान र कानुनअनुसार जे व्यवस्था छ, त्यही हुने होला । अहिलेसम्म बैठक स्थगितको जानकारी भएको छैन ।’

सरकारको सर्वसत्तावाद, दमन र बेथितिविरुद्ध भन्दै कांग्रेसले मंसिर २९ मा देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पुल उद्घाटनको विवादलाई लिएर मंसिर १७ मा तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले गिरफ्तार र दुर्व्यवहार गरेपछि कांग्रेसले सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको हो । प्रदर्शनअघि नै परिषद्को बैठकमा जाँदा सत्तासँग मिलेको सन्देश जान सक्ने बुझेर देउवालाई बैठकमा नजान पार्टीबाटै दबाब परेको थियो । नेता पौडेलले देउवालाई भेटेरै बैठकमा नजान आग्रह गरेका थिए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न शनिबार बोलाइएको आकस्मिक बैठकपछि परिषद् बैठकमा जाने/नजानेबारे देउवा र पौडेलबीच केहीबेर छलफल भएको थियो । नियुक्तिको सिद्धान्त र मापदण्ड तय नभईकनै परिषद् बैठकमा गएर प्रधानमन्त्रीका खल्तीका मान्छे नियुक्ति गर्न जान नहुने तर्क पौडेलले राखेका थिए । त्यसमा पनि २९ गतेको प्रदर्शनअघि जानै नहुने अडानमा उनी अडिग थिए ।

‘परिषद् बैठकमा हस्ताक्षर गरेपछि आफ्नै निर्णय गराइहाल्छन्, प्रधानमन्त्रीलाई मनपरी ढंगले नियुक्ति गर्ने बाटो खोल्न किन जाने ?’ पौडेलले भने, ‘पहिला नियुक्तिको मापदण्ड र सिद्धान्तमा हामी अडिग हुनुपर्छ । पारदर्शी ढंगले योग्य मान्छे नियुक्ति गर्नका लागि रोस्टर बनाउनुपर्छ । यसमा विपक्षी दलको नेताले प्रधानमन्त्रीलाई दबाब दिनुपर्छ ।’ पौडेलले मंगलबारको सर्वदलीय बैठकमा पनि पारदर्शी ढंगले संवैधानिक नियुक्तिका लागि रोस्टर बनाउन माग गरेका थिए ।

सत्ता र प्रतिपक्षबीचको भागबन्डामा मात्रै नियुक्ति गरे आफूले विरोध गर्ने चेतावनीसमेत उनले दिएका थिए । ‘पारदर्शी ढंगले जुन पदमा जस्ता मान्छे चाहिने हुन्, एउटा रोस्टर बनाएर उपयुक्त छनोटमा किन लाग्नुभएन ?’ पौडेलको भनाइ थियो, ‘तपाईं र मेरो सभापतिले मात्रै अनुकूल ठान्ने व्यक्ति खोज्नुहुन्छ भने मै विरोध गर्छु ।’ कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपाने र कृष्ण ज्ञवालीले समाचार लेखेका छन् ।