२ कार्तिक २०८३, सोमबार

अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २६ मंसिर । अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर(बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी समर्थन जनाएको बीबीसीले जनाएको छ ।

सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यिय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो ।

फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् ।

खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ ।

खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको छ । एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो ।

सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ ।

उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका झण्डै ३० लाख जनसङ्ख्याका लागि मात्र पुग्नेछ ।