१ कार्तिक २०८३, आइतबार

गौतमबुद्ध कप क्रिकेट मंसिर २७ गतेदेखि आयोजना हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ मंसिर । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो ।

प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा टीम वाग्मती, टीम नारायणी र टीम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए । वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल छन् ।

यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी टीम भिड्ने छन् ।

दोस्रो खेलमा मंसिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् ।

शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । फाइनल खेल मंसिर ३० गते हुने अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ ।

प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्ने छ भने वाग्मती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्ने छ ।

कोभिड–१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो । रासस