१ कार्तिक २०८३, आइतबार

मानव तस्करीका लागि नयाँ बाटो, तेहरान–थाइल्यान्ड–नेपाल–चीन हुँदै युरोपेली मुलुक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human_traffickingकाठमाडौं, १२ चैत । अन्तर्राष्ट्रिय मानव तस्करहरूले युरोपेली मुलुकहरूको राहदानी बैंककमा बिक्री गरेर नेपालबाट चीन हुँदै युरोप पठाउने नयाँ रुट प्रयोग गर्न थालेका छन्।

बैंककमा सक्रिय मानव तस्करहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुक र इरानी नागरिकहरूलाई युरोपेली मुलुकका राहदानी बिक्री गरेर युरोप छिराउन चीनको बाटो प्रयोग गर्न थालेका हुन्।

उनीहरूले सधैं प्रयोग गर्ने भारत, बैंकक, अबुधाबीलगायतका विमानस्थलमा विशेष सुरक्षा निगरानी बढेपछि तस्करहरूले चीन हुँदै युरोपेली मुलुक छिर्ने नयाँ रुट प्रयोगमा ल्याएका छन्।

बैंककमा इटालीको नक्कली राहदानी बेचेर दलालहरूले नेपालबाट चीन हुँदै फ्रान्स पठाउन लागेकी एक इरानी महिला कुनमिङमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो।

तेहरानबाट थाइल्यान्ड, नेपाल, चीन हुँदै फ्रान्स जान लागेकी इरानी युवती पक्राउ परेपछि उनीहरूले चीनलाई समेत युरोपेली मुलुक छिर्ने ट्रान्जिटका रूपमा विकास गर्न खोजेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सन् २०१४ को सुरुदेखि हालसम्म विभिन्न युरोपेली मुलुकका नक्कली राहदानीमा युरोप छिर्न खोज्ने २२ जना इरानीलाई पक्राउ गरी नेपालको अध्यामगन विभागले निष्कासन गरेको छ। तीमध्ये कसैले पनि चीनको बाटो हुँदै युरोप छिर्ने प्रयत्न गरेको देखिँदैन।

उनीहरूले प्रयोग गर्दै आएको भारत, थाइल्यान्ड, अबुधाबीलगायतका नाकामा त्यहाँका अध्यामगनले निगरानी बढाएपछि दललाहरूले चीनको रुट प्रयोग गर्न नक्कली राहदानीवाहक यात्रुलाई सुझाउन थालेका छन्।

चीनको कुनमिङ अध्यामगनले इटालीको राहदानी नक्कली भएको भन्दै फिर्ता (इन्ट्री रिफ्युज) गरेपछि काठमाडौं विमानस्थल अध्यागमनले चैत १ मा इरानी महिला इब्राहिमी इरमियालाई पक्राउ गरेको हो।

उनी फागुन २८ गते इटालीको नक्कली राहदानीमा नेपाल छिरेकी थिइन्। अध्यामगन विभागका निर्देशकसमेत रहेका सूचना अधिकारी बाबुराम खतिवडाले पक्राउ परेकी इब्राहिमीलाई जाली राहदानीअन्तर्गत मुद्दा चलाएको बताए।

अध्यामगन अधिकारीहरूको बयानमा उनले आफूले बैंककमा चार हजार अमेरिकी डलरमा इटालीको राहदानी खरिद गरेको बताएकी छन्। उनले थाइल्यान्डमा मुस्लिम समुदायका अफ्रोजियान नाम गरेको व्यक्तिबाट राहदानी खरिद गरेको बयान दिएको स्रोतले बताएको छ।

दलालको निर्देशनअनुसार आफू चीन हुँदै फ्रान्स छिर्न खोजेको उनले बताएकी छन्। विदेशी मुलुकको राहदानी खरिदबिक्री गर्ने व्यक्ति कुन मुलुकका हुन भनेर पहिचान गर्न नसकेको उनले बताइन्।

नौ दिनदेखि अध्यागमन विभागको हिरासतमा रहेकी उनले फ्रान्स छिर्ने उद्देश्यले इटालीको राहदानी खरिद गरेकी हुन्। उनी तीन दिन ठमेलस्थित ब्लु होराइजन होटेलमा बसी चाइना साउथ वेस्टर्न एयरबाट कुनमिङ गएकी थिइन्।

इब्राहिमी नेपाल आउँदा र यहाँबाट चीन जाने क्रममा अध्यामगनका कर्मचारीले उनले प्रयोग गरेको इटालीको राहदानी नक्कली भएको पत्तो पाएनन्।

विमानस्थल अध्यामगनका कर्मचारीले उनले प्रयोग गरेको त्यही इटालीको नक्कली राहदानीमा प्रस्थान र आगमन छाप लगाइदिएका थिए।

तेहरानबाट बैंकक आउँदा उनले इरानको यु ३२४५७०५९ नम्बरको सक्कली राहदानी प्रयोग गरेकी थिइन्।

बैंककबाट नेपाल आउँदा त्यहाँको अध्यामगनमा इरानी राहदानीमा नै प्रस्थान छाप लगाएकी इरमियाले काठमाडौं विमानस्थलमा भने बैंककमा खरिद गरेको इटालीको नक्कली राहदानीमा आगमन छाप लगाउन सफल भइन्।

विगतमा समेत अध्यागमनका कर्मचारीहरूले यस्ता घटना अन्जानमा भएको स्वीकार्दै आएका छन्। इरमियाले खरिद गरेको वाईए ४५५७४४९ नम्बरको इटालियन राहदानीमा उनको नाम रिन्डना पेल्जी उल्लेख छ।

सुरुमा आफू इटालीकै नागरिक दाबी गरे पनि अनुसन्धान क्रममा उनको साथबाट इरानको राहदानीसमेत भेटिएपछि उनको वास्तविकता खुलेको हो। बयानका क्रममा उनले आफू इन्जिनियर भएको बताएकी छन्।