
-मोहन पौडेल
परासी, २३ मंसिर । गुणस्तरीय परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई सुलभ र सहज बनाउन मेरी स्टोप्स् ईन्टरनेश्नलले पश्चिम नवलपरासीमा सञ्चालन गरेको परियोजना समापन भएको छ ।
आज परासीमा जिल्ला स्तरीय परियोजना समापन बैठक गरी परियोजना सम्पन्न भएको घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको प्रमुख आतिथ्यमा उक्त बैठक भएको थियो । उक्त अवसरमा जिसस प्रमुख रायले परियोजनाले राम्रो काम गरेको बताए ।
उनले जिल्लामा किशोरी उमेरमा विवाह गर्ने र गर्भपतन गर्ने विकृति अझै पनि रहेको भन्दै यस किसिमको परियोजना थप आवश्यकता रहेको उल्लेख गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी माझीले यस किसिमको सेवा तराई मधेसमा विशेष गरी मुस्लिम समुदायलाई प्राथमिकता दिएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले महिला स्वास्थ्य स्वयमसेविकामार्फत समुदाय स्तरमा थप प्रभावकारी रुपमा सेवा प्रवाह गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अब्दुर रहमान चुरियार, जिल्ला समन्वय अधिकारी देवीप्रसाद आचार्य, एफसीडिओ बुटवलका प्रमुख सन्तोष खड्का, पृथ्वीचन्द्र अस्पतालका मेसु डा.सुरज तिवारी लगायतले परियोजनाको महत्वबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा परियोजनाका प्रबन्धक दिनेश प्रधान र जिल्ला अधिकृत अनु घिमिरेले कार्यक्रमको प्रगति, उपलब्धीबारे जानकारी दिएका थिए ।
सन् २०१८ जुनबाट तीन वर्षका लागि सञ्चालित यस परियोजनाबाट पश्चिम नवलपरासीका सातै स्थानीय तहका तीन हजार ४१८ भन्दा बढीले मिनीप्लाण्ट र ५१ जनाले आईयुसिडीको सेवा लिएका छन् ।















प्रतिक्रिया