९ कार्तिक २०८३, सोमबार

चन्द्रागिरिमा युवाले सुरु गरे ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् ।

चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् ।

अभियानलाई अगामी दिनमा कसरी सार्थक र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए ।

प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष सञ्जय सिग्देल, राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँ, युवा व्यवसायी राजेश घिमिरे, माधव अधिकारी, राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनी लगायतको उपस्थिति थियो ।

सो अवसरमा वडा नं १२ का अध्यक्ष श्रेष्ठले प्रस्तावित ५५ रोपनी जमीन उपयुक्त भएमा सहयोग गर्ने जानकारी दिए । समाजसेवी रामनारायण घिमिरेले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफूले सहयोग गर्ने जानकारी दिए ।

उनले भने, “हामी जो जहाँ छौँ, त्यहीँबाट सहयोगी मन लागौँ, असम्भव भन्ने केही छैन ।” महासङ्घका महासचिव बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । –रासस