काठमाडौं, २३ मंसिर । सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम बताउँछन्। डा. गौतमका अनुसार ३ प्रतिशतले ९ लाख र १७ प्रतिशतले झन्डै ६० लाख जनसंख्यालाई पुग्नेछ।
विभागअन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीका अनुसार खोप भण्डारण व्यवस्थापनको तयारी भइरहेको छ। कोभिड खोप भण्डारण समितिका संयोजकसमेत रहेका भण्डारी पहिलो चरणमा ल्याइने खोपका लागि तयारी पूरा भइसकेको सुनाउँछन्।
‘दोस्रो चरणमा ल्याउने खोप भण्डारण गर्न आवश्यक गृहकार्य भइरहेको छ’, उनी भन्छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), गाभीलगायत स्वास्थ्य संस्थाको विश्वव्यापी सञ्जाल कोभ्याक्सअन्तर्गत आउने खोप न्यून शुल्क वा निःशुल्क रूपमा उपलब्ध हुने जनाइएको छ। कोभ्याक्सको गाइडलाइनअनुसार स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनमा कार्यरतलाई पहिलो चरणमा खोप लगाउनुपर्ने व्यवस्था छ।
नेपालमा १५ वर्षमुनिका बालबालिकालाई खोप कार्यक्रममा समेटिएको छैन। खोप ल्याउन गठित कार्यदलका सदस्यसचिवसमेत रहेका डा. गौतम विश्वका कुनै पनि मुलुकमा बालबालिकाका लागि कोरोना खोप परीक्षण नभएको बताउँछन्। नेपालमा कुल जनसंख्याको २८ प्रतिशत बालबालिका छन्।
बालबालिकाबाहेक ७२ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप कोष सञ्चालन, प्राविधिक, भण्डारण, अनुगमन तथा क्लिनिकल व्यवस्थापनलगायत व्यवस्थापकीय तयारीका लागि आठ वटा समितिले कार्य गरिरहेको उनी बताउँछन्। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया