१ कार्तिक २०८३, आइतबार

सेयर बजारमा ठूलो पहिरो : लगानीकर्ताले एकै दिन गुमाए १ खर्ब ६५ अर्ब

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ ।

गत बिहीबार २७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ पुगेको बजार पुँजीकरण आइतबार २५ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँमा झरेको हो । लगानीकर्ताले एक दिनमा १ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ गुमाउँदा सेयर ब्रोकरले भने कमिसनबाटै ३ करोड ५० लाख रुपैयाँ हाराहारी कमाए ।

नेप्सेमा एकाएक गिरावट आउनुमा राष्ट्र बैंकको मौद्रिक समीक्षा र अस्थिर नीति भएको भन्दै संघीय संसद्को अर्थसमितिले राष्ट्र बैंकका गभर्नरलाई बैठकमा बोलाएको छ ।

नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद्अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा पहिरो गएपछि चासो देखाइएको हो । यही शुक्रबारसम्म सबै संसद् र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले जानकारी दिए ।

बिहान ११ बजेदेखि कारोबार सुरु भएको नेप्सेमा साढे २ बजेतिर कारोबार ६ प्रतिशतले गिरावट आउँदा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । निर्धारित अवधिभन्दा ४७ मिनेटअगावै २ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भयो ।

आइतबार बजारमा रहेका सबै परिसूचक राताम्य हुँदा करिब साढे ३ घण्टामा ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १९७ वटा कम्पनीको ६१ हजार ८५६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर कारोबार भएको हो ।

सर्किट लाग्दा सबैभन्दा बढी निर्जीवन बिमा समूहको परिसूचकमा गिरावट आएको छ । बिमा समूहको परिसूचकमा ५ सय ६९ अंकको गिरावट आउँदा उत्पादनमूलक क्षेत्रको परिसूचक भने ३६२ अंकले घटेकोे छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा भने आज ६४ अंकको गिरावट आएको छ । विकास बैंक समूहको परिसूचक ७६ अंकले घट्दा जलविद्युत् समुहको परिसूचक भने ८६ अंकले ओरालो लागेको छ ।

बिहीबार १५ दशमलव ५७ अंक घटेर २ हजार ५५ दशमलव ४५ बिन्दुमा बन्द भएको बजार आइतबार २ हजार ५१ दशमलव ५१ बिन्दुदेखि खुला भएको थियो । आइतबार बजार १२३ अंक घटेर १ हजार ९३२ दशमलव ११ बिन्दुमा झरेको हो ।

नकारात्मक सर्किटबाट प्रभावित आइतबारको बजारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब १६ करोड ८ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको हो । आइतबार एकै दिन नेपाल पुनर्बिमाको सेयरमूल्य प्रतिकित्ता १७३ ले घटेर १ हजार ५६२ मा झरेको छ । पूर्णभक्त दुलालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।