
काठमाडौँ, २० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।
बैठकले स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकमा हालसम्म प्रस्तुत दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजानेबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले भने, ‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ ।’
शनिबारको बैठकमा पार्टी विवादबारे छलफल भएपनि कुनै ठोस निष्कर्ष निस्कन नसकेको श्रेष्ठले बताए । यद्यपि दुई अध्यक्षबीच गतिरोध अन्त्यका लागि छलफल जारी रहने उनको भनाइ छ ।
‘आजैको बैठकबाट निष्कर्ष निस्केको छैन, सम्भव पनि थिएन,’ उनले भने ।
बैठकअघि दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए ।















प्रतिक्रिया