१ कार्तिक २०८३, आइतबार

शीर्ष नेता आआफ्नै रणनीतिमा लागेपछि नेकपा विवाद गम्भीर मोडमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ ।

विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन् । शीर्ष नेताहरू आआफ्नै अडानमा अडिग भएपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ । विवाद समाधान गर्ने उद्देश्यले आज (शनिबार) सचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको हो ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार खुमलटार पुगेर अध्यक्ष दाहालसँग भेटघाट गरेका थिए । दाहालसँग भेटेको केही समय नबित्दै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

तीन सातायता ओली र दाहालबीच ‘वान टु वान’ छलफल नै नभएकाले उनीहरू आफू निकटका नेताहरूमार्फत संवाद गर्दै विवाद समाधानको प्रयास गरिरहेका छन् । यद्यपि विवाद समाधान हुने संकेत देखिएको छैन ।

यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई भेटेर सहमतिमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए ।

नेकपा स्रोतका अनुसार भेटघाटका क्रममा उनीहरूले सचिवालयमा पेस भएका दुसै प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव तयार गर्नुका साथै २६ भदौको स्थायी कमिटीले गरेको निर्णयमा फर्किनुपर्ने प्रस्ताव दाहाललाई गरिरहेका छन् । तर दाहाल आफ्नो प्रस्ताव फिर्ता नलिई दुवै प्रस्तावबारे पार्टी बैठकमा छलफल हुनुपर्ने अडानमा छन् ।

यही अडानका कारण नेताहरूबीच सहमति हुन नसक्दा राष्ट्रपति भण्डारीको सक्रियतासमेत बढेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रपति भण्डारीलाई भेटेको केही समय नबित्दै अर्का अध्यक्ष दाहाल उनलाई भेटन शीतल निवास पुगेका थिए । शीतल निवासमा पार्टीभित्रको समस्या समाधानका विषयमा छलफल भए पनि त्यहाँ पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी बैठकमा दुवै प्रस्तावबारे छलफल हुनुपर्ने र बैठकले गरेका निर्णय सबैले स्वीकार गर्नुपर्ने रणनीतिमा छन् । तर, ओली समूहले अल्पमत बहुमतको निर्णय स्वीकार्य नहुने र त्यसो गरिए पार्टी विभाजन भएको ठानिने चेतावनी दिँदै आएको छ ।

शनिबार सचिवालय बैठक बोलाइएको भए पनि दुई अध्यक्षबीच सहमति नभएसम्म बैठकमै सहभागी नहुने र दाहालको ‘आरोपपत्र’का बारेमा छलफल गर्न बैठक बस्नुको कुनै औचित्य नै नभएको प्रधानमन्त्री ओलीको अडान छ ।

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीच सहमति नभएसम्म बैठक बस्ने वातावरण नभएको जनाएका छन् । पार्टी गम्भीर मोडमा पुगेको बताउँदै उनले बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति हुनुपर्ने बतााए । दुवै अध्यक्षले पेस गरेको प्रस्तावलाई फिर्ता वा खारेज गरेर साझा प्रस्ताव पेस गर्नुपर्ने बताउँदै उनले सहमतिका लागि २६ भदौको निर्णयमा फर्किनुपर्ने उपायसमेत दाहालसँगको भेटमा सुझाएका छन् ।

तर दाहाल–नेपाल समूह २६ भदौको स्थायी कमिटीको निर्णयको कार्यान्वयन ओलीले नै नगरेको आरोप लगाउँदै पार्टीको बैठकबाटै सहमति खोज्नुपर्ने अडानमा रहेका छन् । दाहालले २८ कात्तिक र ओलीले १३ मंसिरमा प्रस्ताव पेस गर्दै एकले अर्कामाथि विभिन्न गम्भीर आरोप लगाएका थिए ।

दाहाल–नेपाल समूहको छुट्टै भेला

पार्टीभित्र संकट गहिरिँदै गइरहेको बेला दाहाल–नेपाल समूहको विद्यार्थी भेला भएको छ । शुक्रबार राजधानीको थापाथली क्याम्पसमा दाहाल–नेपाल समूहको विद्यार्थी भेला भएको हो । सो भेलामा बोल्दै नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी निर्णय सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।

पार्टी धेरै दिन अनिर्णयको बन्दी बन्न नसक्ने बताउँदै उनले अब पार्टीले बहुमतका आधारमा निर्णय गर्नुपर्ने बताइन् ।

‘सहमति मात्रै पार्टीको विधि होइन । पार्टी बहुमतको निर्णय गरेर अघि बढ्छ,’ शाक्यले भनिन्, ‘पार्टीले गरेको निर्णय सबैले स्वीकार गर्दै कार्यान्वयन गर्नुको विकल्प छैन ।’

सोही भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पम्पा भुसालले पार्टी गम्भीर संकटका परेको बताउँदै पार्टीभित्रको समस्या पार्टी बैठकबाटै समाधान गर्नुपर्ने जनाइन् ।

‘पार्टीमा संकट छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाट गम्भीर छलफल गर्छौं । एकता संघर्ष र रूपान्तरण विधिबाट हल गर्छौं,’ भुसालले भनिन्, ‘सकेसम्म सर्वसम्मत नभए संगठनात्मक विधि छ । त्यसबाट हल गर्छौं ।’ आजको राजधानी दैनिकमा सुभाष साहले समाचार लेखेका छन् ।