
भक्तपुर, १९ मंसिर । भक्तपुरको ठठ्ठाघर–रत्नपार्क चल्ने माइक्रोबसमा पसेर यात्रुको पकेट मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषको नगद ५० हजार रुपैयाँ पकेटमारी गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने मोरङ डाँगीहाट घर भएका २८ वर्षीय विकास राजबंशी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ खाडीचौर बस्ने २७ वर्षीय सन्तोष लामा छन् ।
उक्त रकम पकेटमारी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले लामाको साथबाट पकेट मारेको नगद ५० हजार रुपैयाँसहित फेला पारी उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेको हो ।
उनीहरु उपर चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
लुटपाट गरेको अभियोगमा पक्राउ
यसैबीच कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ चौहट्टी बस्ने ५० वर्षीया महिलाको कानमा लगाइको एक जोर सुनको टप लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय रामवृक्ष खटिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो घर नजिकै शौच गरिरहेको अवस्थामा बुधबार अपरिचित व्यक्तिले ती महिलाको आँखामा खुर्सानीको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटी फरार भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया