२ कार्तिक २०८३, सोमबार

भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ ।

बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो ।

प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट गरेका हुन् ।

प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरूसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्ने छ । नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरू विभिन्न १५ देशमा पुगेको छ ।

उद्घाटन कार्यक्रममा बैंकका अन्तर्राष्ट्रिय बैंकिङ्ग ग्रुपका प्रमुख श्रीराम एच आयरले नेपाल र भारतबीच महत्वपूर्ण व्यापार तथा लगानीको सम्बन्ध रहेको र नेपाली बैंकहरूसँगको बलियो सहकार्यसहितको प्रतिनिधि कार्यालय स्थापनाले दुई देशबीच आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा बैंकका इन्टरनेशनल फाइनान्सियल इन्टिट्युसन प्रमुख रन्जु सिग्टियाले प्रतिनिधि कार्यालयको स्थापना बैंकको यस क्षेत्रप्रति गरिएको पूर्व प्रतिवद्धताको पुनःपुष्टिकरण भएको र बैंकले नेपाल भारतबीचको दीर्घकालिन आर्थिक गतिविधिहरूमाथि विश्वास रहेको बताए ।

साथै उनले दुई देशबीच व्यापार गर्ने ग्राहकहरूबीच गहिरो सम्बन्ध बनाउन नेपालका बैंकिङ्ग साझेदारहरूसँग बैंकले काम गर्ने बताए । बैंकले रञ्जन कुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको छ ।