१ कार्तिक २०८३, आइतबार

ओलीलाई फेरि अल्टिमेटम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prime Minister KP Sharma Oli addressing a meeting held to consult with specialists on COVID-19 pandemic, at his officail reidence in Baluwatawr, Kathmandu, on Wednesday, June 3, 2020. Photo: Rajan Kafle/PM’s Secretariat

काठमाडौं, १८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलह अझै जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने अडान लिएपछि विवाद थप चुलिएको हो ।

मंगलबारको सचिवालय बैठकमा निकै चर्काचर्की परेपछि बुधबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले अडान दोहो¥याउँदै बैठकमा आउन नमानेपछि शीर्ष नेताहरुबीचको छलफलपछि एक घण्टा ढिलो गरी बैठकमा आउन ओली सहमत हुनुभएको थियो ।

तर, बैठक शुरु भएपछि उहाँ बालुवाटारमै भएर पनि बैठकमा सहमति नभएपछि नेताहरुले अध्यक्ष ओलीमाथि असन्तुष्टि जनाएका छन् । बुधबार राजनीतिक प्रतिवेदनमाथि छलफलको प्रक्रिया अगाडि नबढेपछि मंसिर १८ गते बसेको स्थायी समितिको बैठक स्थगित गर्दै २१ गतेका लागि सारिएको छ ।

ओलीको अनुपस्थितिकै कारण पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किंदै गएको र अध्यक्ष ओलीले बैठकमा सहभागिता जनाउन नै आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा आउने सहमति जनाएर पनि अध्यक्ष ओली बैठकमा सहभागी नभएको बताउनुभयो । बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय गरिएको छ ।

ओलीले प्रचण्डले कात्तिक २८ गते ल्याएको प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै आउनुभएको छ भने प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले भने ओली छलफलबाट भाग्ने गरेको आरोप लगाउँदै आएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले आक्रोश व्यक्त गरेको बताइएको छ । वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीले बैठकबाट भागेर गम्भीर गल्ती गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र समस्या भएकै कारण बैठक चाहिएको हो, छलफल गर्न र बहस गर्न डराउने बैठक भाग्ने पनि हुन्छ ?अब पार्टीले विधि र प्रक्रियाअनुसार निर्णय गरेर अगाडि बढनुपर्छ ।’

यसअघि पनि सचिवालय बैठक बोलाउन नेताहरुले गरेको लिखित आग्रहलाई बेवास्ता गरेपछि अध्यक्ष ओलीलाई प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले बैठकमा सहभागी हुन तीन दिनको अल्टिमेटम दिएका थिए । ओली यसअघि पनि पार्टीभित्र विवाद बढ्दै गएपछि सचिवालय बैठकमा सहभागी हुनुभएको थिएन ।

पार्टीभित्र विवाद बढ्दै गएको र सचिवालयमा अल्पमतमा परेपछि सकेसम्म ओलीले बैठक सार्न चाहेको बताइएको छ । तर, प्रचण्ड–नेपालपक्ष भने यसपटकको बैठकबाट छिनोफानो गरेर अगाडि बढ्नुपर्ने निष्कर्षमा रहेको जनाइएको छ । मधुसूदन रायमाझीले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।