
काठमाडौँ, १७ मंसिर । उद्योगी व्यवसायीहरुले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन् ।
उनीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको त्यस्ता कर खारेज गर्न माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले वुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उनीहरुले यसको समाधान गरिदिन अर्थमन्त्री पौडेललाई अनुरोध गरेका छन् ।
महासंघका पदाधिकारीले दुई तर्फ कर लिँदा व्यवसायीको मनोबल खस्केको बताएका छन् । त्यस्तै, कतिपय आर्थिक विकासमा कानुन पनि बाधक बनेको उनीहरुको दावी रहेको छ । त्यसैले सरकारलाई महासंघका तर्फबाट छुट्टै प्रतिवेदन बनाएर सुझाव दिन लागिएको पनि बताइएको छ ।
महासंघका पदाधिकारीले कोरोना प्रभावका ककारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन पनि माग गरे ।
त्यस्तै, सरकारले निर्यातमा बढी ध्यान दिन, रेमिट्यान्सलाई उत्पादनका क्षेत्रमा लगाउन तथा निजी क्षेत्रलाई पार्टनरका रुपमा हेर्न पनि महासंघले सुझाव दिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए ।
निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए ।















प्रतिक्रिया