काठमाडौं, ११ चैत । राजधानीको भृकुटीमण्डमा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जारी १८ औं पुष्प ब्यापार मेला ६१ लाखको कारोबार गर्दै मंगलबार सकिएको छ ।
मेला अबधिभर ४९ हजार भन्दा बढीले मेला अबलोकन गरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । चैत ७ गतेबाट शुरु मेला १० गतेसम्म चलेको थियो ।
नेपाल सरकार कृषिबिकास मन्त्रालयको सहयोगमा सम्पन्न मेलामा आलंकारिक बोटबिरुवा, एजेलिया, बगन्बेलिया सिजनल फूलहरु खरिदकर्ताको रोजाइमा परेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो ।
मेलामा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहेका थिए ।
मेलामा मौसमी फूल, आलंकारीकबोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, कृषिऔजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म थोपा सिचाई प्रबिधी, गार्डेनका र विषादीका प्रदर्शनी तथा मलको विक्रिकक्ष रहेका थिए ।
साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूलबिरुवा प्रति स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथमहुने पुष्पव्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
मेलामा ४५० भन्दा बढि प्रकारका आलंकारिक फूलविरुवा प्रदर्शन तथा बिक्रि, विभिन्न नर्सरीहरुको उत्पादन सहित जमघट, विभिन्न प्रकारका मौसमी फूल विरुवाहरु, बिभिन्न प्रकारका कृषि औजारहरु, फूलबिरुवालाई आबश्यक पर्ने मल तथा सजावटका सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि, पुष्प सजावट तथा घर आँगन बगैचा सजाउने तरिकाको प्रदर्शन तथा प्रतियोगिता गराई पुरस्कृत गरिएको थियो ।
नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आब २०७०/७१ सम्म आई पुग्दाहाल ३८ जिल्लामा लगभग ६७५ पुष्पफर्म/नर्सरीहरु बिस्तार भईसकेको छ ।
लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आब २०७०/७१ मा सिजनल फूल बिरुवातर्फ रु २१.६८ करोड, आलंकारिक बोट बिरुवातर्फ रु. ३८.१५ करोड, कट फ्लावर्स तर्फ रु २०.४५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्गतर्फ रु १७.०४ करोड, खुल्लाफूलतर्फ रु.६.७० करोड, सामग्री आपुर्ती तर्फ रु १२.४० करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदी) तर्फ रु ८.३३ करोड, र निर्यात तर्फ रु ३ करोड गरी जम्मा १ अर्ब २७.७५ करोड भन्दा बढीको कारोबार रहेको फ्लोरिकल्चर एशोसिएशनका कार्यक्रम संयोजक जेबी तामाङले बताउनुभयो ।
मेलामा गरिएको बिभिन्न प्रतियोगिता मध्ये उत्कृष्ट स्टल, उत्कृष्ट फूल्ने बिरुवा र उत्कृष्ट मौसमी फूलको उपाधी अजिमा नर्सरीले हातपारेको थियो ।
यसैगरी उत्कृष्ट आलंकारीक बिरुवातर्फ बिशाल नर्सरी, उत्कृष्ट ल्याण्डस्केप तर्फ बज्रयोगिनी बंगैचा निर्माण सेवा प्रालि र उत्कृष्ट पुष्प सजावट तर्फ महाँलक्ष्मी फ्लावर डेकोरेटर पुरस्कृत भएका थिए । उत्कृष्ट पुष्प ब्यबशायीहरुलाई शील्ड, नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
मेलाको उत्साहजनक सहभागिताले फ्लोरिकल्चर एशोसिएशन नेपालले अर्को बर्ष यहि समयमा २० औं पुष्पब्यापार मेला आयोजना गर्ने महासचिब दिलिप बादेले बताउनुभयो ।












प्रतिक्रिया