१ कार्तिक २०८३, आइतबार

३९६ अस्पताल एकसाथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । सरकारले ३ सय ९६ स्थानीय तहमा सोमबार एकै दिन आधारभूत अस्पतालको शिलान्यास गरेको छ। स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि गरी पालिका तहमा अस्पताल निर्माणलाई सरोकारवालाले ‘युगान्तकारी कदम’को संज्ञा दिएका छन्।

‘यो युगान्तकारी कदमको सुरुआत हो। एउटा पालिकामा एक अस्पताल बन्दै छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य क्षेत्रमा यस खालको युगान्तकारी काम पहिले भएको थिएन।’ सातै प्रदेशमा सरुवा रोग अस्पतालको पनि शिलान्यास गरिएको गौतमले जनाए।

यसअघि स्वास्थ्यमा गरिने लगानीलाई खर्चका रूपमा लिने गरिएको थियो। तर, अहिले स्वास्थ्यमा बजेट विनियोजनलाई लगानीकै रूपमा हेर्न थालिएको विज्ञको टिप्पणी छ। चालु वर्षको नीति तथा कार्यक्रममा सरकारले पालिकामा ५, १० र १५ शड्ढयाको अस्पताल र सातै प्रदेशमा सरुवा रोग अस्पताल सञ्चालन गर्ने जनाएको थियो। ७ सय ५३ स्थानीय तहमध्ये अस्पताल नभएकाको संख्या ६ सय ४९ छ। बाँकी पालिकामा अस्पताल निर्माण गर्न आगामी वर्ष बजेट व्यवस्थापन गरिने प्रवक्ता गौतमले बताए।

जिल्ला अस्पतालबाट प्रवाह गरिँदै आएको स्वास्थ्य सेवा गाउँपालिकास्तरमै उपलब्ध गराउने प्रयास सुरु भएको मन्त्रालयले जनाएको छ। यसअघि ०४८ सालमा तत्कालीन स्वास्थ्यमन्त्री डा. रामवरण यादवको पालामा हरेक गाउँ विकास समितिमा उपस्वास्थ्य चौकी बनाउने कार्य थालिएको थियो।

‘त्यो बेला पनि धेरैले युगान्तकारी भनेर प्रशंसा गरेका थिए’, गौतमले भने, ‘अहिले एउटा पालिकामा डाक्टरसहितको अस्पताल निर्माणको सुरुवात भएको छ।’ दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाइएको छ। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।