
काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाध रुपमा सरकार चलाउन दिनुपर्ने बताएका छन् ।
अहिले नै ओली सरकारको समीक्षा र मूल्यांकन गर्ने बेला भइनसकेको भन्दै उनले नेकपालाई आफूले पाएको म्यान्डेटअनुसार सरकार सञ्चालन गर्न दिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसलाई अहिले कुनै पनि बहानामा सत्तामा जाने नैतिकता नभएको पनि उनले स्पष्ट पारेका छन् ।
राजनीतिक पार्टीहरुभित्र अनेकन समस्याहरु आउन थालेको भन्दै उनले हार्नेले पनि भाग खान खोज्दा समग्र राजनीति नै विकृतिको दिशातर्फ अगाडि बढेको टिप्पणी गरे । ‘अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्षपछि हुने हो’, सोमबार रिपोटर्स क्लवले आयोजना गरेको साक्षातकार कार्यक्रममा उनले भने ।
तर, सरकारको काम सन्तोषजनक नभएको भन्दै उनले भने, ‘देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि ! तर, खोई कहाँ उनीहरूको हित भएको छ ? दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरू कसरी बाँच्छ ? सरकराले हेर्नुपर्दैन् ? यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएर असफल बनाउने तत्व कम्युनिष्ट पार्टीभित्रै भएको पनि उनको भनाइ छ ।
आफ्नो पार्टी कांग्रेसभित्र पनि विवाद भएको सुनाउँदै प्रधानले आफ्नो पार्टीभित्रको विवादचाहिँ पार्टीको अधिवेशनको लागि भएको जिकिर गरे । ‘हाम्रो लडाईँ त ईस्युमा हो । केपी ओलीले युवाहरूलाई नेतृत्व दिने भनेका छन् । मैले पनि युवा साथीहरूलाई नेतृत्व लिन तयार हुनुपर्छ भन्दै आएको छु, हाम्रै पार्टी युवा नेताहरूलाई लड्न भनेको छु । युवाहरूले आँट गरेका छैन् । म त बीचमा छु । ७० पुगेको छैन । ६० वर्ष नाघिसकें । अर्को कुरा सभापति उठ्न क्रेज पनि चाहियो नि !’, उनले भने ।
प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भइरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भीर टिप्पणी गरेका छन् । उनले भने, ‘यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेन्डा हो । हामीले बोकेर यी परिवर्तनका आएका हुन् । पूर्वराजालाई पार्टी खोल्न चूनौती दिन्छु । त्यो हो डेमोक्रेसी । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’















प्रतिक्रिया