२ कार्तिक २०८३, सोमबार

नेपाल–भारत सम्बन्ध सही ट्र्याकमा फर्किएको छ : डा. भट्टराई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्धिपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको बताएका छन् ।

आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरी राखेर छिमेकीहरूसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरेका छन् ।

डा. भट्टराईले अहिले नेपाल–भारत सम्बन्ध ट्र्याकमा फर्किएको विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले नेपाल–भारत सम्बन्ध ट्र्याकमा फर्किएको छ । अब परराष्ट्रमन्त्रीस्तरीय भ्रमण हुन्छ । मलाई लाग्छ, यो डिसेम्बरभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त संयन्त्रको बैठक बस्छ । बास्तवमा यो संयन्त्रको मिटिङ भनेको महत्वपूर्ण हो, भेटवार्ताको यो ठूलो र महत्वपूर्ण मेकानिज्म हो । यसमा सबै विषयमा छलफल हुन्छ । अस्ति दुई परराष्ट्रसचिवबीच सबै विषयमा छलफल भएका छन् । सीमा समस्याको बारेमा पनि छलफल भएको छ । अब परराष्ट्रमन्त्रीस्तरमा हुन्छ । यसले त्यो भन्दा बढि लेभलमा छलफल र भेटवार्ता हुन्छ ।’

‘हाम्रो विदेश नीतिको मामिलामा वर्तमान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारको स्पष्ट भनाइ के छ भने संविधानमा पनि उल्लेख छ–हामी कतै पनि संलग्न नरहेर, हामी सैन्य र राजनीतिक संलग्नतामा नजाने, कुनै पोलमा पनि जाँदैनौं । हाम्रो भू–राजनीतिक अवस्थिति नै त्यस्तो छ, हामी यता हो कि उता भनेर सोच्ने छुट छैन’, डा. भट्टराईले भने, ‘हाम्रा नजिकका छिमेकीहरूसँगको सम्बन्धलाई ध्यान दिनैपर्छ । स्वतन्त्रतासँग जोडिएको विषय छ । जनताको हितलाई ध्यानमा राखेर गरिने सहकार्यमा सरकार अडिग छ ।’

उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको सुनाए र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘सामाजिक, धार्मिक, सांस्कृतिक र भाषाका हिसाबले भारतसँग हाम्रो सम्बन्ध धेरै प्रगाढ छ । बढी भन्दा बढी परनिर्भरता भारतसँग रह्यो । अहिले पनि दुईतिहाई वैदेशिक व्यापार भारतसँगमात्रै छ । भारतले सहयोगात्मक परियोजना नेपालमा थुप्रै छन् ।’ संविधान बनाउने बेलामा भारतले प्रभाव देखाउन खोजेको भन्दै भट्टराईले नेपालका दलहरूले एकता देखाएका कारण भारतले आफ्नो अनैतिक प्रभाव लाद्न नसकेको पनि उनले स्मरण गरे ।

उनले भारतसँग सीमाको विवादको समस्या रहेको उल्लेख गर्दै त्यसलाई पनि हल गर्नेगरी वर्तमान सरकारले काम अघि बढाएको सुनाए । उनले भने, ‘यो विवाद अहिलेको होइन । दुई प्रधानमन्त्रीबीच गत अगष्ट १५ मा टेलिफोनवार्ता भयो । सम्वाद भयो । भारतीय प्रधानमन्त्रीले ईन्टिलिजेन्स प्रमुखलाई आफ्नो सन्देश बोकेर पठाउनुभयो । अघिपछि नेपालका थुप्रै नेताहरूले रअ प्रमुखसँग भेटेका छन् । यो अभ्यास विगतदेखि नै छ । अहिले आए उनी, उनी के भनेर आए भने सम्वाद प्रक्रिया अघि बढाउन आए । भारतीय प्रधानमन्त्रीले पठाएर रअ प्रमुख नेपाल आएका हुन् । को पठाउने भन्ने कुरा उहाँहरूको कुरा हो । आईसकेपछि हाम्रो प्रधानमन्त्रीले भेट्नुभयो ।’

त्यस्तै, उनले चीनसँगको सन्दर्भमा पनि अहिले सम्बन्ध प्रगाढ रहेको बताए । उनले भने, ‘यो बीचमा थुप्रै सन्धिसम्भाmैता गरेका छौं । वर्तमान प्रधानमन्त्री हुँदा २०१६ मा एक हिसाबले ऐतिहासिक र दुरगामी असर पर्ने सन्धिहरू भएका छन् । दश बुँदे सन्धि जुन भयो, त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको त पारवाहन र यातायात छन् । नाकाहरू व्यवस्थित् गरेर लैजाने कुरा भएका छन् । रेलवेको कुरा छ । किमाथांका नाकाको ट्रयाक खोल्ने काम भैरहेको छ । दक्षिणजस्तै उत्तरसँगपनि कनेक्टिभिटीमा जानुपर्छ ।’

दुवै मुलुकबाट फाईदा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । चिनियाँ रक्षामन्त्रीको हिजो सम्पन्न भएको भ्रमण रेसिप्रोकल भिजिट भएको बताएका छन् ।