आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

‘निर्माण सामग्रीमा कार्टेलिङ गरी मूल्य वृद्धि गरियो’

निर्माणाधीन परियोजनाहरू ठप्प हुने अवस्थामा

दैनिक नेपाल २०७७ मंसिर १४ गते १५:५१

काठमाडौं, १४ मंसिर । निर्माण व्यवसायीहरूले बजारमा निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी मूल्य वृद्धि गरेको बताएका छन् ।

कोभिड–१९ को महामारीबीच निर्माण कार्य शुरू हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरूमा कार्टेलिङ गरी अत्यधिक मूल्य वृद्धि गरिएको बताएका छन् ।

यसै सन्दर्भमा निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गरी महासंघले फलामजन्य निर्माण सामग्रीहरू विभिन्न साइजका डण्डी, पाता, पत्ति, जीआई तार, ग्याविन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरूले अत्यधिक मूल्य वृद्धि गरेको बताएको छ ।

‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरूले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्यधिक रूपले मूल्यवृिद्घ गरी मिलेमतो गरेको देखिएको छ’, महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ ।

त्यसैगरी देशको कुनैपनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र विक्रीवितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । गृहको निर्णय बमोजिम निर्माणाधीन परियोजनाहरूमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएकोप्रति महासंघले सरोकारवाल सबै निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रूपले क्रसरहरू बन्द हुन गएको र यसबाट अभाव सृजना हुन गई खानीजन्य निर्माण सामग्रीहरूमा सीमित व्यवसायीहरूको मिलेमतोमा अत्यधिक मूल्यवृिद्घ गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी (प्रति केजी) मा रू. १५ देखि रू.२० सम्म मूल्यवृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्य वृद्घि भएको महासंघले जनाएको छ । महासंघका अनुसार कोभिड–१९ का कारण सृजित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायीहरू बाह्र महिना भन्दा कम अवधि भएका निर्माण आयोजनाहरूको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको उनीहरूको भनाइ छ ।

व्यवसायीमैत्री ऐन कानूनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायीहरू बेला बखत सृजना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित भइरहेको महासंघले जनाएको छ । अन्य विविध कारणले निर्माण परियोजनाहरू समयमै नसकिँदा अरु पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रूपमा व्यवसायीहरूमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासंघको भनाइ छ ।

विषम परिस्थितिकाबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ । नेपाल सरकारबाट प्रभावकारी रूपले अनुगमन गरी मूल्यवृद्घि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवला सबै निकाय समक्ष महासंघले जोडदार माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित