काठमाडौँ, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभाको निर्वाचनको मतगणना सुरु भएको छ ।
महासंघको नयाँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न निर्वाचनकोे साँझ ६ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए ।
प्रज्ञा भवनमा तीन वटै समूहको मतगणना भइरहेको पौडेलले जानकारी दिए । महासंघको निर्वाचनको इतिहासमा पहिलो पटक शतप्रतिशत भोट खसेको छ । निर्वाचन समितिका अनुसार जिल्लारनगर, एसोसिएट र वस्तुगत सबैतर्फ शतप्रतिशत भोट खसेको हो ।
वस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र एसोसिएट तर्फ ९०३ मतदाता रहेका थिए । पौडेलका अनुसार मतगणनाको अन्तिम परिणाम राती ११ बजेसम्म आउनेछ ।
महासंघको निर्वाचनमा जिल्ला नगरको ५० प्रतिशत, एशोसियटको ३० प्रशिशत तथा वस्तुगततर्फको २० प्रतिशत भोटभार हुने व्यवस्था रहेको छ ।
महासंघको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भएको थियो ।
महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।
जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। ।
यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।
यसै क्रममा संस्थापक संघ तर्फबाट दामु अधिकारी केन्द्रिय सदस्यमा विजयी भएका छन् । उनी ढकाल प्यानबाट चुनावमा सहभागी थिए ।