
काठमाडौँ, १३ मंसिर । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
शनिवार राजधानीमा अभिनव साहित्य समाजले आयोजना गरेको पुरस्कार वितरण समारोहमा मन्त्री फुयाँलले साहित्यको विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
साहित्य सँगसँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको मन्त्री फुयाँलको भनाइ थियो । अब साहित्यलाई उत्पादनमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्री फुयाँलले हरि अभिनव पु्रस्कार २०७७ साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरे ।
पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ । वरिष्ठ साहित्यकारहरु विष्णु प्रभात, विजय चालिसे लगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा श्रेष्ठको योगदानको चर्चा गरे ।
अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष घनश्याम प्रसाई, सदस्य विमल अर्याल लगायतले समाजका गतिविधिबारे चर्चा गरेका थिए । वरिष्ठ पण्डित तथा ज्योतिष स्वर्गिय हरिप्रसाद घिमिरको स्मृतिमा समाजले २०७४ सालदेखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ ।
हाल सम्म यो पुरस्कारबाट भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा, साहित्य सेवी रमा शर्मा पुरस्कृत भइसकेको छन् । यसैबीच शनिवार नै समाजको वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समितिको अध्यक्षमा वेदमणि घिमिरे गोविन्द, उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाई, सहसचिवमा मेनका आचार्य र सहकोषाध्यक्षमा शारदा पराजुली रहेका छन् ।
सदस्यहरुमा सुमन पुडासैनी, विन्दा खतिवडा र आलोक चालिसे चयन भएका छन् । २०५८ सालमा स्थापित समाजले प्रत्येक महिनाको अन्तिम शनिवार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको छ ।















प्रतिक्रिया