८ कार्तिक २०८३, आइतबार

हतियार काण्डमा फस्ने भए जुवाडे दिलीप लामा, एसएसपी सिंहद्वारा कारबाहीको चेतावनी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । काठमाडौंमा जुवा र हतियारका काण्ड एकपछि अर्को गर्दै बाहिरिन थालेको छ ।

तिहारका बेला कात्तिक ३० गते झण्डै एक करोड रुपियाँ हारेका काठमाडौंको बुढानिलकण्ठ नगरपालिका निवासी दिलीप लामा विभिन्न काण्डहरूमा पर्न थालेका छन् । जुवा खेल्न भनेपछि हुरुक्कै हुने लामा शुक्रबार पनि बुढानिलकण्ठमा १२–१३ लाख रुपियाँ राखेर जुवा खेलेको स्रोतले जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासनबाट लाइसेन्स लिएर हतियार बोक्ने गरेका लामा जग्गाका कारोबारी हुन् । उनी बेलाबेला विभिन्न काण्डमा पर्ने गरेका छन् । लामाले ‘सुण्डमुण्ड’हरूलाई साथमा राखेर हिँड्ने गरेका छन् ।

जुवामा पैसा हार्दा लामाले ‘मार्छु’, ‘काट्छु’, गोली हान्छु’ भन्दै बरबराउने गरेको उनका जुवाडे साथीहरूले भन्ने गरेका छन् ।

जुवामा पराजित भएपछि त्यो हारेको पैसा उठाउन उनले गुण्डा, डनलगायतको समूहलाई परिचालन गर्ने गरेका छन् ।

झण्डै करोडको जुवाको काण्डका विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका सिपाहीलाई समेत थाहा छ । तर, त्यहाँका प्रमुख डीएसपी रोशन खड्कालाई थाहा छैन । उनको क्षेत्र जुवाका ठूलाठूला खेलहरू भइरहेका छन् ।

जग्गा कारोबारी लामाले विभिन्न समूहलाई हतियारको लाइसेन्स बनाइदिने भनेर रकम पनि असुल्ने गरेको आरोप छ ।

लामालाई लागेको आरोपका विषयमा सोध्न उनको मोबाइलमा फोन गर्दा फोन उठेन । फोन नउठेपछि एसएमएस पठाएर धारणा बुझ्न खोज्दा पनि लामाले कुनै प्रतिक्रिया दिएनन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले दिलीप लामाले लाइसेन्सवाला हतियार राखेर दुरुपयोग गरेको भए कारबाही गर्ने चेतावनी दिएका छन् । उनले जुवा खेल्ने समूह वा व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गर्ने बताएका छन् ।

‘हतियार भनेको आफूलाई असुरक्षा भयो भने राज्यको नियामक निकायसँग अनुमति लिएर मात्रै राख्न पाइन्छ’, सिंहले भने, ‘दिलीप लामा वा अरु जो कोहीले पनि हतियारको नाजायज प्रयोग गरेको भए पक्राउ गरेर कारबाही गर्छु ।’

यस विषयमा आफूले त्यस क्षेत्रको प्रहरीलाई आवश्यक कारबाहीका लागि निर्देशन दिने एसएसपी सिंहले बताएका छन् ।