१ कार्तिक २०८३, आइतबार

पोखरेलद्वारा दुई ठूला नेतासँग भेट, शर्मा खुमलटारमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ मंसिर । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीको प्रतिवेदन तयार हुनुअघि स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले कार्यकारी अध्यक्ष दाहालसँग भेट गरेका थिए।

उनीहरूले पार्टी विभाजनतर्फ जान नहुने र दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। ‘उहाँहरू खुमलटार आउनुभएको थियो। दुवै अध्यक्ष मिलेर जानुपर्ने, विभाजनले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त हुने र यसले कसैलाई फाइदा नपुग्ने बताउनुभयो।

उहाँहरूको कुरा सुनेपछि कार्यकारी अध्यक्षले पनि पार्टी विभाजन नहुने दुवै अध्यक्षको प्रतिवेदनले पार्टीलाई झन् बलियो बनाउन मद्दत गर्ने बताउनुभयो,’ खुमलटारनिकट स्रोतले भन्यो। स्रोतका अनुसार दुवै प्रतिवेदनलाई संयुक्त रूपमा बैठकमा पेस गर्नुपर्ने र पार्टीको सम्पत्तिका रूपमा लैजानुपर्ने पोखरेल र शर्माको धारणा थियो।

गौतम–पोखरेल भेट

सचिवालय बैठकअघि उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीउपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका छन्। उनीहरू दुवैले पार्टी विभाजन गर्न नहुने विषयमा कुराकानी गरेको भए पनि विभाजन कसले गर्ने र कसका लागि गर्ने भन्नेबारे चाहिँ केही कुराकानी नभएको स्रोतले जनाएको छ।

पोखरेलले पार्टी एकतालाई बलियो बनाएर लैजाने विषयमा गौतमको मुख्य हात रहेकाले त्यतातर्फ सोच्न आग्रह गरेका थिए। ‘उहाँहरूबीच कुराकानी भएको हो तर केके विषयमा भयो भन्नेबारे जानकारी भएन। बाटो परेर उहाँ पस्नुभएको हो भन्ने थाहा छ,’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने।

नेपाल–ढकाल भेट

सचिवालय बैठक बस्नु एक दिनअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग ओलीनिकट नेता एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका छन्। ढकालले नेपाललाई पार्टी महाधिवेशनपछि नेतृत्व गर्न आग्रह गरेका थिए।

नेपालले तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार गर्दै आएपछि उनलाई ओली समूहका नेताहरूले लगातार महाधिवेशनपछि नेतृत्व लिन आग्रह गर्दै आएका छन्। तर नेपालले यो विषयलाई धोका दिने अर्को रणनीतिका रूपमा बुझ्दै आएका छन्। नेता नेपालले विधि र पद्धतिबाट पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै आएका छन्।