
काठमाडौं, ११ मंसिर । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ–नेपाल आबद्ध परिषद्ले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न माग गरेको छ ।
सङ्गठित क्षेत्रका श्रमिक श्रम कानूनअनुसार सामाजिक सुरक्षाबाट संरक्षित भए पनि सामाजिक सुरक्षाको छाताभित्र नभएको अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई समेट्न नसक्दा सामाजिक सुरक्षा योजना आम श्रमजीवीको आकर्षण बन्न नसकेको परिषद्ले जनाएको छ ।
परिषद्ले श्रमिकको रोजगारीको सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअनुसार बेरोजगार बीमा योजना तत्काल शुरु गर्न अनुरोध गरेको छ । यस्तै योगदानकर्ताको आश्रित परिवारलाई समेत समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्जन गर्न आग्रह गरिएको छ ।
सामाजिक सुरक्षा कोषमा उपदान वा अवकास कोषकै रूपमा स्वेच्छिकरूपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन माग गर्दै परिषद्ले सञ्चयकोष तथा उपदान व्यवस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसँग बाझिएका कानून परिमार्जन गर्न पनि सरकारसँग अनुरोध गरेको छ ।
तेस्रो सामाजिक सुरक्षा दिवसका सन्दर्भ पारेर बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् एवं जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुख्य योजनामा देखिएको कमीकमजोरी हटाई श्रमजीवीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
“सङ्गठित क्षेत्रका श्रमिक जो, कुनै न कुनैरूपमा सीमित भए पनि श्रम कानूनअनुसार सामाजिक सुरक्षाबाट संरक्षित थिए, तिनलाई नै सम्बोधन गर्ने गरी नयाँ योजना सञ्चालन गर्दा ठूलो सङ्ख्यामा रहेका र सामाजिक सुरक्षाको छाताभित्र नभएको अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई समेट्न नसक्दा आम श्रमजीवीको आकर्षणको विषय बन्न सकेन”, उनले भने, “सङ्गठित क्षेत्रका लागि यो नौलो विषय बन्न सकेन जसका लागि नौलो र राहतयोग्य कुन हुनसक्थ्यो, त्यसका लागि सामाजिक सुरक्षा कार्यक्रमले कुनै प्रभाव पारेन ।”
सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको दुई वर्ष पुगे पनि रोजगारदाताको न्यून सहभागिताले श्रमजीवीप्रति रोजगारदाताले बेइमानी गरेको पुष्टि भएको उहाँको भनाइ छ । बुधबारसम्म कोषमा १२ हजार ९ सय १५ रोजगारदाता र एक लाख ७९ हजार ७ सय ९१ योगदानकर्ता सूचीकृत भएका छन् ।
“सूचीकरण र योगदानको अवस्थाका आधारमा योजनासम्बन्धी नीति तथा योजना निर्माणमा सहभागी रोजगारदाता सङ्गठनका नेतृत्वले समेत आफ्ना प्रतिष्ठान सूचीकृत नगर्नुले रोजगारदाता इमान्दार नबनेको पुष्टि हुन्छ”, अध्यक्ष श्रेष्ठले भने, “श्रमिक सङ्गठन र रोजगारदाता सङ्गठनको सहमतिमा सरकारले योजना लागू गरेको भए पनि योजना कार्यान्वयनमा न सरकार गम्भीर बन्न सक्यो न रोजगारदाता इमान्दार बने ।” रासस















प्रतिक्रिया