२ कार्तिक २०८३, सोमबार

भारतका विदेशसचिव हर्षवर्धन काठमाडौं आइपुगे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । दुईदिने नेपाल भ्रमणका लागि भारतका विदेशसचिव हर्षवर्धन श्रृङ्गला काठमाडौं आइपुगेका छन् ।

बिहीबार बिहान विशेष विमानमार्फत उनी काठमाडौ उत्रिएका हुन् । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

साथै प्रमुख विपक्षी दल नेपाली कांग्रेसलगायत दलका उच्च नेतासँग पनि भेट गर्ने तयारी छ । भ्रमणकै क्रममा उनले भारत सरकारले सहयोग स्वरूप पठाएको कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण पनि गर्ने छन् ।

विदेशसचिव श्रृङ्गलाले भ्रमणका क्रममा बिहीबारै परराष्ट्र सचिव भरतराज पौडेलसँग भेट गर्ने छन् । यस द्विपक्षीय भेटमा नेपाल–भारतबीच सहकार्यमा रहेका विभिन्न परियोजनाका बारेमा छलफल हुने छ । भारतले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो सहयोग राशिका साथ सघाइरहेको छ ।

त्यस्तै नेपालको तराई क्षेत्रका सडकमार्ग स्तरोन्नति र पूर्वाधार निर्माण अन्तर्गतको हुलाकी सडक निर्माण, सीमा नाकामा चारवटा चेकपोस्ट निर्माण, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, रेल्वे सेवा, खाद्य सुरक्षा, व्यापार वाणिज्य, अरुण तेस्रोसहितका विद्युत् उत्पादनलगायत विविध परियोजनामा दुई मुलुकबीच सहकार्य जारी छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ ।

आजै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी ओलीको निर्देशानुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी भएको जनाइएको छ ।