१ कार्तिक २०८३, आइतबार

मध्यभोटेकोसीमा करोडौं घोटाला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १० मंसिर । निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, चिनियाँ ठेकेदार र कन्सल्ट्यान्टको मिलेमतोमा करोडौं घोटाला भएको प्रमाण फेला परेको छ ।

स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्ले, कन्सल्ट्यान्ट दिनेश भण्डारी र चिनियाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ ।

आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताउनुभयो । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौंको ड्रिल भएको अडियो नै फेलापरेको छ, सुरुङको टेस्ट नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको छ।’ –मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमार लामाले भन्नुभयो ।

दोभाषे गोविन्दमार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरी सुरुङको परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्यान्टले सिफारिस पठायो, मैले पास गर्न मानिनँ।’ –लामाले भन्नुभयो ।

कार्यकारी निर्देशक काफ्ले, कन्सल्ट्यान्ट भण्डारी र दोभाषे पौडेलको सेटिङमा मध्यभोटेकोसी आयोजनाको साइट कार्यालयमा राम्रो काम गर्ने कर्मचारीलाई लामो समय टिक्नसम्म दिइँदैन । काम गर्ने कर्मचारी उनीहरुको सेटिङमा खेदिन्छन्, आयोजना प्रमुख सुनिल लामाले पत्तोसम्म पाउँदैनन् । ‘एमडी यता आउँदा मसँग भेटघाटसम्म हुँदैन, कन्सल्ट्यान्ट र कन्ट्र्याक्टरसँग भेटेर फर्कनुहुन्छ’, लामाले भन्नुभयो– ‘एउटा सामान्य दोभाषेसँग करोडौं ड्रिल गर्ने कार्यकारी निर्देशकले कसरी आयोजना सम्पन्न गर्न सक्छन्?’

२०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोसी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटकपटक म्याद थप गर्दै पछिल्लोपटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोसी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रनुभएको छ ।

‘समस्या सिर्जना गर्दै आयोजनाको म्याद थप्ने र कमाउने खेलमा एमडी मणिराम काफ्ले लागेको प्रमाण भेटियो, एउटा सामान्य दोभाषेसँगको करोडौंको ड्रिल गरेको अडियो हामीसँग छ’, बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भन्नुभयो– ‘स्थानीय समुदायका समस्या ज्युँकात्युँ छन्, एमडी नै कमाउ धन्दामा लागेर आयोजना असफल बनाउन उद्यत देखिए ।’ राष्ट्रिय गौरवको मध्यभोटेकोसी आयोजनाका धमिराहरुलाई कानुनी कारबाहीको प्रक्रियामा आफूहरु अघि बढेको उहाँले बताउनुभयो । नानीराम नेपालले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।