१० कार्तिक २०८३, मंगलबार

कुतबुल मदार शाह दरगाह कमेटीको चौथो साधारणसभा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ८ मंसिर । मुस्लिम र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मदारबाबामा प्रत्येक वर्ष मेला सञ्चालन गर्दै आएको कुतबुल मदार शाह दरगाह कमेटी सुस्ता–२ महलबारीको चौँथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार महलबारीको चुहाडी(सत्तपत्ति)मा आयोजित साधारणसभाले संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन छलफल गर्दै पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री घनश्याम यादवले मदारबाबा स्थल लुम्बिनी प्रदेशमै पर्ने बताए ।

नेकपाका नेता यादवले मदारबाबा थानलाई लुम्बिनी प्रदेशबाट अन्य प्रदेशमा लैजान नदिने चेतावनी पनि दिए । उनले मदारबाबा मेला सञ्चालन गर्ने कुतबुल मदार शाह दरगाह कमेटी महलबारी नै आधिकारिक संस्था भएकोले अन्य समूहको पछि नलाग्न सबैलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष निजामुद्धिन मियाँको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले साविक कुडिया गाविसमा पर्ने मदारबाबा हाल सुस्ता गाउँपालिकामा रहेकोले भ्रममा नपर्न आग्रह गरे ।

मदारथानको विकासका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्र्दै आएको र अव समाधीस्थलसम्म पुग्ने सिँडी बनाउने तयारीमा रहेको उनले बताए ।

मदारबाबाका मठाधिस अमिरुल्लाह अन्सारीले कुतबुल मदार शाह दरगाह कमेटीले मदारबाबा स्थलको संरक्षणमा विशेष भूमिका खेल्दै आएको भन्दै विभिन्न समूहले आफ्नो स्वार्थका लागि अन्य संस्था स्थापना गर्ने तथा भ्रम फैलाउने काम गरिरहेको भन्दै त्यस्ता कुराहरूमा विश्वास नगर्न आह्वान गरेका छन् ।

सुस्ता गाउँपालिकाकी उपाध्यक्ष ईन्द्रकुमारी थरुनी,वडा अध्यक्ष कृष्णलाल मुखिया, मदरसा समन्वय समितिका अध्यक्ष बुद्धन अलि, मदारबाबाका मठाधिस अमिरुल्लाह अन्सारी, मौलाना अब्दुल मजिद, महबुब आलम, आलमगिर निजामी, जाकिर हुसेन, हरिलाल दुसाध लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका कोषाध्यक्ष रियाजुलक अन्सारीले गत आर्थिक वर्षको रु सात लाख ४ हजार १७३ बराबरको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

९८ जना साधारण सदस्य रहेको उक्त संस्थाको साधारणसभामा करिब ८० जना सदस्यहरूको सहभागिता रहेको थियो ।