
काठमाडौं, ७ मंसिर । सरकारले कोरोना भाइरस परीक्षण गर्न सरकारबाट जारी भएको परिचयपत्र अनिवार्य गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचयपत्र अनिवार्य गरेको हो ।
नेपालमा स्वास्थ्य परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापानको नारिता गएका केही व्यक्तिमा फेरि त्यहीँ परीक्षण गर्दा पोजेटिभ देखिएपछि नेपालमा कोरोना परीक्षणलाई विश्वसनीय बनाउन सरकारले यस्तो नियम लागू गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
आइतबार नियमति प्रेस ब्रिफिङका क्रममा उनले भनेका छन्, ‘सबै प्रयोगशालालाई आन्तरिक गुणस्तर कायम गर्न र गराउने उद्देश्यले यस्तो निमय लागू गरिएको हो ।’ यस्तै मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चार वटा प्रयोगशाला (ल्याब) लाई २४ घण्टे स्पष्टीकरण पनि सोधेको छ ।
परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको प्रवक्ता गौतमले जानकारी दिए ।















प्रतिक्रिया