
स्याङ्जा, ५ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमूना कार्यालय घोषणा गरेकी छिन् ।
देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने मन्त्रालयको अभियान अन्तर्गत आज शुक्रबार मालपोत कार्यालय वालिङलाई नमूना घोषणा गरिएको हो ।
मालपोत कार्यालयलाई नमूना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन् । मालपोत र नापी कार्यालयको बिग्रिएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउँदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह हुने सेवाबाट पुष्टि हुँदै गएको दाबी गरिन् ।
सुशासन कायम गर्ने कुरा गाली गरेर मात्र प्राप्त नहुने भन्दै उनले त्यसका निम्ती नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने बताउँदै भनिन्, ‘सिस्टमबाट नै सुशासन कायम गर्ने, प्रविधिको प्रयोग गरेर नै सेवाग्राहीलाई खुसी बनाउने काम प्रमुख ठानेर हामी यो अभियानमा लागेका छौ ।’

‘हिजो २/३ दिन बसेर गर्नुपर्ने कामहरु अहिले एकैदिनमा गर्न सकिनेगरी सर्वसुलभ र छितोछरितो सेवा प्रवाह हुने सिस्टम विकास गरेर जनतालाई सुबिधा दिएका छौं’, मन्त्री अर्यालले भनिन् ।
नमूना भन्दा २/४ ठाउँमा गर्ने भन्ने पनि हुनसक्ने भन्दै उनले यो सरकारको अभियान भएकाले देशभरका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधीमैत्री सेवा पुर्याइने बताइन् ।
‘हामीले जुन प्रविधिको प्रयोग गर्न खोज्यौं त्यसका निम्ती दक्ष जनशक्तिको आवश्कता पर्छ । त्यो कुरामा हामीलाई दक्ष जनशक्तिको कसरी विकास गर्ने भन्ने कुरामा चुनौती छ’, मन्त्री अर्यालले भनिन्, ‘हिजो एक ढंगले कर्मचारीहरुको नियुक्ति भएका छन् । हामी अर्को हिसाबले हिँड्न खोजेका छौं । नयाँ खालको प्रविधिलाई प्रयोग गरेर सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्तिको संख्या हामीसँग कम छ । यो कुरा चुनौतीपूर्ण त छ । तर, विज्ञताको वृद्धि गर्दै कर्मचारीहरुलाई दक्ष बनाउँदै हामी अगाडि बढ्नुपर्छ ।’















प्रतिक्रिया