काठमाडौं, ५ मंसिर । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको अटम अफर २०२० लाई परिमार्जन गरी थप सुविधासहित ‘इको भ्वाइस प्लस डाटा कम्बो प्याक’ सार्वजनिक गरेको छ ।
टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको बताएको छ । परिमार्जित अफर आज शुक्रबार राति १२ बजेपश्चात् लागू हुने छ ।
हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रू. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रू. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको टेलिकमले बताएको छ ।
यसअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत रू. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।
यसैगरी रू. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
उल्लेखित सबै दरहरूमा प्रचलित कर समावेश गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।