२ कार्तिक २०८३, सोमबार

विश्व शौचालय दिवस : स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । स्वास्थ्य र सरसफाईसम्बन्धी जनचेतना अभिबृद्धिसहित प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई पर्यटकको आकर्षण र सुरक्षित आवासयोग्य मुलुक बनाउन सरोकारवालाहरुले सरकारसँग आग्रह गरेका छन् ।

विश्व शौचालय दिवस (वल्र्ड ट्वाईलेट डे) नोभेम्बर १९ का अवसरमा राजधानीमा आयोजित एक वेबिनारका वक्ता र सहभागीहरुले सो आग्रह गरेका हुन् ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत स्मार्ट वास सोलुसन्स प्रालिद्वारा आयोजित कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भने, ‘सरसफाईको कति आवश्यक छ भन्ने कुरा अहिलेको कोरोना भाइरसको महामारीले पनि देखाएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई स्वच्छ, सफा, हराभरा बनाउन सरसफाई दशक मनाउनु आवश्यक छ । मलाई त विश्वास छ नेपाललाई सरसफाई र स्वास्थ्यका हिसाबले पनि संसारको बस्नयोग्य मुलुकको शीर्षमा पुर्याउन सकिन्छ ।’

उनले नगरपालिकाका सबै मेयरहरु आफ्नो नगरलाई प्रदूषण र दुर्गन्धरहित स्वच्छ राख्न प्रतिबद्ध रहेको र आफूले कुरा गरेका चार प्रदेशका मुख्यमन्त्रीहरु पनि सरसफाई अभियान सञ्चालन गर्न इच्छुक रहेको जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीको हस्ताक्षरसहित प्रतिबद्धता आइसकेको छ । पहिलो चरणमा हरेक प्रदेशका १०/१० वटा नगरपालिकामा स्वच्छ शहर अभियान चलाऔं । एक दशकमा पूरै नेपाल स्वच्छ, सफा र हराभरा बनाउन सकिन्छ ।’

उनले राजनीतिक इच्छाशक्ति भएर पनि प्रशासनिक र प्राविधिक पक्षलाई समानरुपले अगाडि लैजान नसकेकाले सोचे अनुकूल नतिजा नआएको पनि बताए । सरसफाईसम्बन्धी सरकारका तीनै तहबाट कानून ल्याएरै अभियान चलाउनु पर्ने उनको भनाइ छ । उनले नगरपालिकामा वातावरणविद्को दरबन्दी सृजना गरेर सरसफाईलाई हेर्ने व्यवस्था गर्नु उपयुक्त हुने पनि बताएका छन् ।

नगर प्रमुख ब्याञ्जुले आफ्नो नगरपालिकाले आफ्नो घरपरिवार र उद्योगका कारखानाबाट निस्केका फोहरमैला र पानीहरुको प्रशोधन गर्ने प्लान्ट जडान गर्नेलाई कर सहुलियत दिन थालेको पनि बताए । नेपाल खुला दिशामुक्त मुलुक घोषणा भए पनि दलित, सुकुम्बासी, सीमान्तकृत र पिछडिएको वर्गका नेपालीहरुको घरमा शौचालयको अभाव भएकाले सो समस्या समाधान गर्न पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका बिल एण्ड मिलिन्दा गेटस् फाउण्डेशनको ग्लोबल ग्रोथ एण्ड अपच्र्युनिटी डिभिजन, वाटर स्यानिटेशन एण्ड हाइजिनका डेपुटी डाइरेक्टर डा. रोशनराज श्रेष्ठले दीगो र सुरक्षित ढंगले व्यवस्थापन गरिने सरसफाई सेवाका बारेमा मन्तव्य दिएका थिए ।

जलवायु परिवर्तनका कारण पानी पर्ने प्रकृतिमा भएको परिवर्तन, हिमालको हिँउदेखि नदी तथा पानीका मुहान, पोखरी र तलाउहरु सुक्ने असर देखिएको बेला पानीको संकलन, सदुपयोग र भावी परिदृश्य हेरेर नयाँ नगर, शहर र बस्तीहरुको विकास गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘हामी विकास प्रयासहरु जलवायु परिवर्तनका असरहरुलाई सहन सक्ने वा तीसँग दातात्म्य रहने गरी थालिनु पर्दछ ।’

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने विश्व जलवायु कोषमा ५ अर्ब डलरको धनराशी भए पनि सरसफाईको क्षेत्रमा त्यसको ० दशमलव शून्य २५ प्रतिशत रकम मात्र विनियोजन भएकोले त्यहाँबाट ठूलो सहयोगको अपेक्षा गर्न नसकिने तर आफूले काम गरेको क्षेत्रको तथ्यांक आधार र काम गरेको नतिजाको राम्रो अभिलेख राखिएमा अन्य सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरुले नै सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई विज्ञ सञ्जय अधिकारीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको सरसफाई कार्यक्रमको बारेमा प्रस्तुति दिएका थिए भने इञ्जिनीयर केशवराज विष्टले मेचीनगर नगरपालिकामा भएको ढलप्रशोधन केन्द्रको सञ्चालन प्रकृया र प्राप्त शिक्षाका बारेमा तयार पारेको पावर प्वाइन्ट ई.हरिप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका ई. देबेन्द्र झाले नेपालले खुला दिशामुक्त अभियान अन्तरगत घरघरमा शौचालय निर्माणको अभियान सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै त्यसपछिको कार्यक्रम तय गर्न बिलम्ब भइसकेको बताए ।