
काठमाडौं, ४ मंसिर । यातायात सेवाको नियमनका लागि सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ ।
मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले यस्तो प्रणाली लागू गरेको हो । यो प्रणाली लागू भएपछि यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकुल हुने विश्वास सरकारको छ ।
सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई दृष्टिगत गर्दै यसअघि नै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भीड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।
ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
ओटीएमएसले लगानिकर्ताहरुको सञ्चालन खर्च घटाई मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिदविक्री प्रक्रियामा विचौलियाहरुलाई पूर्ण रुपमा निषेध गर्ने बताइएको छ ।















प्रतिक्रिया