
काठमाडौँ, ४ मंसिर । धादिङ, चितवन, रोल्पा, कैलाली र बाँकेमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
धादिङ, धुनिबेशी नगरपालिका ८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका ७ बस्ने रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका ६ चेपाङडाँडास्थित सडकमा ग.७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका १४ बस्ने २६ वर्षीय भेष बहादुर क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका १४ बस्ने २५ वर्षीय अनिल बिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रोल्पा, सुनिलस्मृती गाउँपालिका ८ तल्लोपानीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्ण राहु मगरको बुधबार राति मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्नको खोजी गर्ने क्रममा लु.१ ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका ३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना.५ ख ८९३२ नम्बरको बसले भे.९ प १५२२ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका २ बलादी बस्ने २१ वर्षीया तुल्सी पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नबजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका ११ बस्ने २१ वर्षीय मदन ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका १९ भैयापुरस्थित सडकमा रोकी राखेको भे.१ त९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सोही उपमहानगरपलिका १९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको बुधबार साँझ मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया