
दोलखा, ३ मंसिर । दोलखास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफूमाथि लागेको अनियमितताको आरोप असत्य भएको दाबी गरेको छ ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्य सहकारीहरुसँग एकिकरण गर्दा आर्थिक लेनदेन भएको, एक्सेस ब्राण्ड खरिद गरेको, सहकारीको नीति विपरित ऋण लगानी गरिएको, ऋण लगानी गर्दा आर्थिक लाभ लिने गरेको लगायतका विषयमा दैनिक नेपालले समाचार प्रकाशित गरेको थियो । सोको खण्डन गर्दै अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले आरोप प्रमाणित भए जुनसुकै कानुनी सजाय भोग्न तयार रहेको दैनिक नेपाललाई बताए ।
अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत न्यौपानेले विज्ञप्ति जारी गर्दै २०५० सालमा स्थापना भएको सहकारीलाई अहिलेको अवस्थासम्म ल्याउन कानुनी दायरामा रहेर बिभिन्न संघर्ष गरिएको र नैतिक रुपमा प्रश्न उठ्ने गरी कुनै पनि गैरकानुनी काम नगरेको उल्लेख गरेका छन् ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा एसियाली ऋण महासंघ (अकु)द्वारा सञ्चालित एक्सेस ब्राण्ड कार्यक्रममा २०६८ सालबाट सहभागी भई बिभिन्न ८६ वटा सूचक पार गर्दै २०७४ सालमा एक्सेसको ब्रोञ्च ब्राण्ड तथा २०७५ र २०७६ सालमा एक्सेसको सिल्भर ब्राण्ड प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उल्लेखित ब्राण्ड प्राप्त गर्न सहकारीले पार गरेको सूचकको विषयमा जुनसुकै बेला स्थलगत अनुगमन गर्न सकिने अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीले ऋण लगानी गर्दा संघिय, प्रदेश र स्थानिय सहकारी ऐन तथा नियमावली, संस्थाको विनियम, ऋण नीति, साधारण सभाको निर्देशन र सञ्चालक समितिको निर्णय अनुसार गर्नु पर्ने बाध्यकारी अवस्थामा प्रमुख कार्यकारी अधिकृत, कर्मचारी या कुनै सञ्चालकले आर्थिक लाभ लिएर धितो बिना, सेयर सदस्यलाई जानकारीनै नदिई या अरु कुनै गैरकानुनी ढङ्गले ऋण लगानी गर्ने सम्भावना नरहने अध्यक्ष श्रेष्ठ दाबी गर्छन् ।
त्यसैगरी, अन्य सहकारी संस्थाहरुसँग एकिकरण गर्दा आर्थिक लाभ दिने गरेको कुरामा पनि कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल मिलिजुली कालिञ्चोक सहकारी संस्थामा बिभिन्न नौ वटा सहकारी एकिकरण भएको र थप केहि सहकारी संस्थाहरुसँग एकिकरणको लागि छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ अन्य सहकारीहरुसँगको एकिकरण मिलिजुली कालिञ्चोक सहकारीको मात्र सरोकार र आवश्यकताको विषय नभई एकिकरणमा सम्वद्ध सहकारी संस्थाका सदस्यहरुको चाहना, भावना र समग्र राष्ट्रको नीति अनुसार भएकोले यस्तो अवस्थामा आर्थिक लेनदेन या अन्य कुनै प्रकारको प्रलोभन कोहि कसैलाई पनि आवश्यक नहुने बताउँछन् ।
मिलिजुलीसँग एकिकरण भएको कालिञ्चोक सहकारीका अध्यक्ष राजेश उप्रेती र सिंगटी सहकारीका अध्यक्ष बोधराज श्रेष्ठले एकिकरणको बेला आर्थिक लाभ लिएको आरोपको खण्डन गर्दै आरोप प्रमाणीत गर्न चुनौती दिएका छन् । सहकारी एकिकरण एक जनाको निर्णयले हुने नभई साधारण सभाको निर्णयबाट हुने भएकोले अध्यक्षले आर्थिक लाभ लिएको भन्ने समाचार चरित्र हत्या गर्ने प्रयासमात्र भएको उनीहरुको आरोप छ ।
आन्तरिक राजश्व कार्यालय, सहकारी बैङ्क, नेप्सकुन लगायतका निकायबाट बिभिन्न समयमा पुरस्कृत हुँदै आएको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले प्राप्त गरेको पुरस्कारको बारेमा उठाईएको प्रश्न समेत सहकारीले गलत भएको दाबी गरेको छ ।
त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष हेमन्त चौलागाईले विज्ञप्ति प्रकाशित गरी बिभिन्न एक्सेस ब्राण्ड तथा पुरस्कार प्राप्त गरेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कुनै प्रकारको गलत काम गर्दैन भन्ने विश्वास लिएको उल्लेख गर्दै केही कमजोरी भए सच्चाउन र छानविन गरी तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।
नेप्सकुनको छानविन
यसैबीच, मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विषयमा दैनिक नेपालमा समाचार प्रकाशित भएपछि नेफ्स्कुनले सहकारीको बिभिन्न गतिविधिहरुको विषयमा छानिविन समेत गरेको छ । नेफ्स्कुनका बरिष्ठ तालिम अधिकृत र अनुगमन अधिकृतको टोली स्थलगत रुपमा केहि दिन अध्ययन गरी काठमाडौं फर्किएको छ ।
त्यसैगरी, सहकारीको लेखा समितिले समेत सहकारी विज्ञ तथा नागरिक समाजको प्रतिनिधि सहितको छानविन समिति गठन गरी थप अध्ययन सुरु गरेको छ । नेफ्स्कुन र संस्थाको लेखा समितिको छानविनपछि संस्थाका गतिविधिहरुको विषयमा सेयर सदस्य, सरोकारवाला निकाय र सञ्चारकर्मीहरुलाई समेत थप प्रष्ट हुने अध्यक्ष श्रेष्ठ बताउँछन् । तर, प्राप्त प्रमाण र तथ्यका आधारमा दैनिक नेपालले सहकारीका विषयमा समाचार प्रकाशित गरेको थियो । दैनिक नेपालको समचारपछि सहकारी विभागले समेत यस सम्बन्धी अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया