२ कार्तिक २०८३, सोमबार

संक्रमण कम गर्न नागरिक आफै सचेत र सजग हुनुपर्छ : सभापति देउवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको बढ्दो संक्रमण न्यूनीकरणका लागि स्वयम् नागरिक आफैं सचेत र सजग हुनुपर्ने बताएका छन् ।

आइतबार भाइटीका तथा नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै देउवाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकार जनताकाप्रति गैरजिम्मेवार, अनुत्तरदायी र संवेदनहीन देखिएकाले नागरिक आफैं सचेत भएर यो महामारीको सामना गर्नुपर्ने बताएका हुन् ।

व्यक्ति आफू सचेत भए मात्रै यो महामारीलाई चाँडो परास्त गर्न सकिने भएकाले चाडवाडका बेला सचेत बन्न पनि उनले देशवासीमा आग्रह गरेका छन् ।

‘कोभिड—१९ को महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेको छ । यसको रोकथाम र नियन्त्रणमा सरकार जनताकाप्रति गैरजिम्मेवार, अनुत्तरदायी र संवेदनहीन देखिएको छ । सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरू आफै पनि सचेत र सजग हुन जरुरी छ । तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै सामाजिक दूरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु’, उनको शुभकामना सन्देशमा लेखिएको छ ।

नेपालीहरूको महान चाड तिहारको पाँचौ दिन भाइटीका तथा नेपाल सम्वत्को नयाँ वर्ष ११४१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै देउवाले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्, ‘नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।’

तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमंग सृजना गर्न, दिदीबहिनी र दाजुभाइहरूबीच तथा आफन्तहरू बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको देउवाको भनाइ छ ।

त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिने भन्दै उनले भनेका छन्, ‘नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो ।’