काठमाडौँ, ३० कात्तिक । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १३ लाख नाघेको छ ।
हालसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७ सय १३ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ३० लाख पुगेको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।
उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।
उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ । –एएनआई