२ कार्तिक २०८३, सोमबार

लक्ष्मी पूजाको समयमा मन्त्री पुन पुगे भार प्रेषण केन्द्रमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २९ कात्तिक । शनिबार साँझ लक्ष्मी पूजाको समयमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) पुगेका छन् ।

देशभरको विद्युत् आपूर्र्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडीसी पुगेका हुन् ।

नेपालीहरूको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत् खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ । विद्युत्को माग बढी हुने समयमा माग र आपूर्र्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैं एलडीसीमा उपस्थित भएको मन्त्री पुनले बताए ।

‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्र्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भने । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्र्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल समेत गरेका छन् ।

सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरूलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्र्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।

प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत् माग १२ सय मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत् उपलब्ध छ । मागभन्दा बढी विद्युत् भएकाले कतै पनि विद्युत् अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

मन्त्री पुन राति अबेरसम्म भार प्रेषण केन्द्रमै रहनुहुने कार्यक्रम छ । मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत् उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका छन् ।