
काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठ लामो प्रस्ताव पेश गरेपछि नेकपाभित्र हंगामा मच्चिएको छ ।
पार्टी एकीकरणपश्चात् एकपछि अर्को विवादको सामना गर्दै आएको नेकपा पछिल्लो समय फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला प्रचण्डको उक्त आलोचनात्मक प्रस्तावले पार्टीभित्र थप शंसय उत्पन्न गराएको छ ।
त्यसो त राजनीतिज्ञहरु प्रचण्डको प्रस्तावले पार्टीलाई गम्भीर मोडमा पुर्याएको बताउन थालेका छन् ।
यसैबीच पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठकमा प्रचण्डले एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीविरुद्ध लगाइएको लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनै नसक्ने समेत बताएका छन् ।
पार्टी विधान, परम्परा, अभ्यास र दुबै जना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन भएको थापाको दाबी छ ।
यस्तो छ, उनको स्टाटस–
अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।
यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।















प्रतिक्रिया