
काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय टीमका सदस्य सन्दीप लामिछानेले कथा बिस्तारै शुरु हुने बताएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करणमा भाग लिएर बिहीबार स्वदेश फर्किएका क्रिकेटर लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कथा सकिएको छैन, बिस्तारै शुरू हुँदै छ ।’
आईपीएलमा दिल्ली क्यापिटल्सबाट सहभागी भएका सन्दीपलाई कुनै पनि खेल नखेलाई स्वदेश फर्काइएको छ । यो सिजनमा उनी सम्मिलित दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएर घर फर्किएको छ । यद्यपि, दिल्ली क्यापिटल्स पहिलोपटक आईपीएलको फाइनलमा भने उक्लिन सफल भएको थियो ।
सन्दीपले स्वदेश फर्किएसँगै ट्विटरमा लेखेको अभिव्यक्तिलाई आईपीएलमा कुनै पनि खेलमा सहभागी नगराइएकोतर्फ लक्षित भएको अनुमान गर्न सकिन्छ । उनको ट्विटमा धेरैले सोही बुझाईको रि–ट्विट गरेका छन् ।
तर कतिपयले भने नेपाल र भारतबीचको राजनीतिलाई पनि दोष दिँदै सन्दीपले खेल्न नपाएको अभिव्यक्ति दिएका छन् । ‘दिल्लीले अश्विनलाई ल्याउनु नै तिम्रा लागि घातक हो भाइ । अनि अर्को पक्ष दिल्लीको राजनीति र नेपालको राजनीतिको १९–२० ले पनि प्रभाव पारेको हो’, भुपेन बानियाँले रि–ट्विट गरेका छन् ।
यस्तै कतिपयले माया प्रेम छोडेर सम्पूर्ण ध्यान खेलमा लगाउन सुझाव पनि दिएका छन् ।
सन्दीप केही समयपछि बिग बास लिग (बीबीएल) का लागि अष्ट्रेलिया जाने तयारीमा छन् । यसअघि दुई संस्करण लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक नयाँ टीमबाट बीबीएल खेल्दैछन्, तर टीम भने फाइनल भइसकेको छैन ।
बीबीएल डिसेम्बर १० देखि शुरु हुँदैछ ।















प्रतिक्रिया