
काठमाडौं, २७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसार र भेटघाटलाई तीव्र पारेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तीव्र पारेका छन् । यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरू पशुपति मुरारका, जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका छन् ।
आफ्ना उम्मेदवार तथा पूर्व अध्यक्षहरूसहित सुदुरपश्चिम पुगेका प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत निर्वाचित गरिनु पर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरूले बताएका छन् । बुधबार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले किशोर प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भावी अध्यक्षले समर्थन गरेको समूहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरूको भनाइ छ । भावी अध्यक्षले समर्थन नगरेको समूह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरूले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पबहादुर कुँवर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लको सहभागिता थियो ।
डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ ।
आफ्ना मतदाताहरूसँग कुरा गर्दै प्रत्यासी प्रधानले महासंघको शाख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नु पर्ने बताए । उनले निर्वाचन भीडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए ।
आफू भीड जम्मा गर्न नभई भोट जम्मा गर्ने अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरूसँग आग्रह गरेका छन् ।















प्रतिक्रिया