१ कार्तिक २०८३, आइतबार

अब कोरोना परीक्षण र उपचार निःशुल्क

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णयसँगै आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

२०७२ को संविधानमा नै उल्लेख भएको निःशुल्क स्वास्थ्य उपचार सेवा आम नागरिकको नैसर्गिक अधिकारमाथि हस्तक्षेप गर्दै आएको सरकारलाई सर्वोच्च अदालतले दुईपटक निर्देशन दिएपछि अदालतको मानहानि मुद्दा खेप्नुपर्ने डरले सो निर्णय भएको हो ।

सरकारले महामारीको उपचार निःशुल्क गर्नुको सट्टा उल्टै पैसा लिँदै आएकोमा दुईपटक सर्वोच्चले निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिइसकेको थियो । यति हुँदा पनि सरकार तथा स्वास्थ्य मन्त्रालयले अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अपहेलना मुद्दासमेत परेपछि निःशुल्क उपचारको प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको र सोही प्रस्तावलाई मन्त्रिपरिषद्ले पास गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

चौतर्फी आलोचनाका साथै सर्वोच्चको निर्णयको पालना गर्न सरकार बाध्य भएर पहिला शुल्क लिने निर्णय गरेको विषयलाई सच्याउन बाध्य भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संविधानले नै सुनिश्चित गरेको अधिकारमाथि हस्तक्षेप गर्दै गत भदौ २८ गते उहाँलगायत मन्त्रालयकै इन्सिडेन्ट कमान्ड सेन्टरले निजी अस्पताल र ठेकेदारसँगको मिलेमतोमा कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालय स्रोतको दाबी छ ।

निर्णय गरेको ३५ दिन नघाएर कानुनी चोरबाटो समात्दै यही कात्तिक २ गतेदेखि कोरोना संक्रमितले उपचार गर्दा अस्पतालमा शुल्क तिर्नुपर्ने बाध्यकारी नियम लागू गरेको थियो । प्रदेश सरकारलगायत केही नेता, मन्त्रीहरुले दशैंभत्ता नलिने र आफूले खाईपाई आएको तलबसमेत संकटका बेला देश र जनताका लागि सहयोग गर्ने घोषणा गरेपछि लज्जाबोध भएको सरकारले मन्त्रिपरिषद्का सबै सदस्यहरूको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको एक नेताले बताउनुभयो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि सबै मन्त्रीहरूको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गर्न बाध्य भएको बुझिएको छ । कोरोना उपचार निःशुल्क गर्ने निर्णयका साथ सरकारले कोरोना भाइरसविरुद्धको खोप पनि किन्ने निर्णय गरेको छ । खोप ल्याउन सरकारले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र मन्त्रालयका सचिवस्तरीय ३ सदस्यीय समिति गठन गरेको छ । खोप प्रयोगमा आउन अझै केही समय लाग्ने विश्व स्वास्थ्य सगठनले जनाएको छ । भगवती तिमल्सिनाले नेपाल समाचार पत्र दैनिकमा समाचार लेखेकी छिन् ।