
काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले दुई अध्यक्षबीच छलफल गरेर मात्रै सचिवालय बैठक डाक्नुपर्ने प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर प्रचण्डनिवास खुमलटार पुगेका पोखरेलले दुई अध्यक्षबीच छलफल गरेर एजेण्डा तय गरेर बैठक बस्न उपयुक्त हुने प्रस्ताव गर्दै दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताएका छन् ।
स्रोतका अनुसार नेता पोख्रेलले अब विवाद लम्ब्याउन नहुने बताएका छन् । दुई अध्यक्ष मिलेर अब समस्या समाधान गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डलाई दुई अध्यक्षको बैठकमा सहमत हुन आग्रह गरेका छन् ।
तर, अध्यक्ष प्रचण्डले भने अब ओलीसँग बसेर छलफल गर्नुको अर्थ नरहेको भन्दै आफूहरूको अनुरोधअनुसार केन्द्रीय सचिवालय बैठक नै बस्नुपर्ने अडान लिएका छन् ।
प्रचण्डले आजै अपराह्न ४ बजेका लागि सचिवालयको बैठक समेत बोलाइसकेका छन् । ओलीको सन्देश बोकेर यसअघि महासचिव विष्णु पौडेल हिजो प्रचण्ड निवास पुगेका थिए ।















प्रतिक्रिया