१ कार्तिक २०८३, आइतबार

चिनी मिलले छ वर्षदेखि पैसा तिर्न बाँकी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । उखु किसानले आन्दोलन गरे पनि अझै १ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। चिनी मिलले विभिन्न बहाना झिकेर पछिल्लो ६ वर्षदेखिको बक्यौता रकममा झुलाएको झुलायै गरेका हुन्।

सरकारले गत वर्ष पुसमा बक्यौता उपलब्ध गराउन पहल गरिदिने भनेर किसानसँग सहमति गरेको थियो। तर, एक वर्ष पुग्न लाग्दा पनि किसानले ८ चिनी उद्योगबाट भुक्तानी पाउन सकेका छैनन्। उखु किसानले संघीय राजधानी काठमाडौंमा आएर पुस १ गतेदेखि अढाई साता लामो आन्दोलन गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस १८ गते सम्पूर्ण बक्यौता उपलब्ध गराइदिने भनेर उखु किसान संघर्ष समितिसँग लिखित सहमति गरेको थियो।

‘तर, वर्षदिन बित्न लाग्दा पनि सम्पूर्ण बक्यौता भुक्तानी भएन’, संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले भने, ‘घरव्यवहार छाडेर कठ्यांग्रिने जाडोमा राजधानीमा आन्दोलन गर्न सरकार र उद्योगले बाध्य बनाए। पुरानो रकम भुक्तानी नहुँदा हाम्रो घरपरिवार नै बिग्रियो। यसको क्षतिपूर्ति कसले तिर्ने होला।’

संघर्ष समितिले पुरानो बक्यौता प्राप्त गर्न मंसिरमा पुनः राजधानीकेन्द्रित आन्दोलन गर्ने चेतावनी सरकारलाई दिएको छ। समितिको टोलीले आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो। उनीहरूले तत्कालै पुरानो बक्यौता भुक्तानी नभए मंसिरदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

छठ पर्वअघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए छठपछि मंसिर २७ गतेदेखि राजधानीको माइतीघर मण्डलामा हजारौं संख्यामा उपस्थित भएर सिंहदरबार घेराउ गरिने समितिले जनाएको छ। समितिले चैत ४ गतेदेखि राजधानीमा आन्दोलनको घोषणा गरेको थियो। ‘तर सरकारले कोभिड १९ को कारण देखाउँदै हाम्रो आन्दोलन तत्कालीन समयमा स्थगन गरायो’, रायले भने, ‘तापनि, बक्यौता पाउन सकिएन।’

समितिका संरक्षक राकेश मिश्रले उखु बिक्री गरेको रकम किसानले प्राप्त गर्न नसक्दा कतिपयको घरमा बिहे, छोराछोरीको उच्च शिक्षा, घर निर्माणजस्ता अत्यावश्यक काम पनि रोकिएको जानकारी दिए। मिश्रका अनुसार ८ चिनी मिलबाट झन्डै १ अर्ब २० करोड भुक्तानी पाउन बाँकी छ। मन्त्रालयले भने ६ चिनी मिलबाट ६५ करोड हाराहारीमा मात्रै भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ।

मिश्रका अनुसार सर्लाहीको अन्नपूर्ण सुगर मिलले २५ करोड, महालक्ष्मीले ६ करोड र बागमती खाँडसारीले ५ करोड बक्यौता तिर्न बाँकी छ। यस्तै रौतहटको श्रीराम सुगर मिलले ४० करोड, नवलपरासीको लुम्बिनीले २९ करोड र इन्दिराले ११ करोड, महोत्तरीको एभरेष्टले २ करोड र सुनसरीको इस्टर्न सुगर मिलले १ करोड ७५ लाख भुक्तानी गर्न बाँकी छ। राजेश वर्माले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।